गैँडाकोट। मुलुक प्राकृतिक विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेका बेला नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर ५ स्थित पारिजात आमा समूहले अनुकरणीय सामाजिक दायित्व निर्वाह गरेको छ। समूहले यस वर्ष कुनै पनि तीज गीत तथा औपचारिक सांस्कृतिक कार्यक्रम नगर्ने निर्णय गर्दै घरदैलोमार्फत सङ्कलित राहत रकम विपद् व्यवस्थापनका लागि हस्तान्तरण गरेको छ।
आमा समूहकी अध्यक्ष तारा शर्माको नेतृत्वमा सञ्चालन गरिएको घरदैलो अभियानमार्फत स्थानीय बासिन्दाहरूले स्वेच्छाले सहयोग गरेको रु. ५५ हजार ७ सय ७५ सङ्कलन भएको थियो। उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खातामा जम्मा गराइएको छ।
देश नै विपत्तिको मारमा परेका बेला तीज गीत र नाचगान जस्ता भडकिला कार्यक्रम गर्नुभन्दा अप्ठ्यारोमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्नु नै वास्तविक धर्म र संस्कृति भएको अध्यक्ष तारा शर्माले बताउनुभयो। “मुलुक शोक र संकटमा परेका बेला तीज गीत कार्यक्रम स्थगित गरेर सहयोग जुटाउनु हाम्रो कर्तव्य सम्झियौँ,” अध्यक्ष शर्माले भन्नुभयो, “स्थानीयहरूले स्वतःस्फूर्त रूपमा सहयोग गर्नुभयो। यो सानो सहयोगले विपद्मा परेका पीडितहरूलाई राहत पुगोस् भन्ने हाम्रो चाहना हो।”
तीजको औपचारिक कार्यक्रम रद्द गरी मानवीय सेवामा जुट्ने पारिजात आमा समूहको यो कदमले समाजका अन्य संघ-संस्थाहरूलाई पनि ठूलो प्रेरणा दिएको छ।



उज्यालो खबर

