×

गैँडाकोट-  मुलुक प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिबाट गुज्रिरहेका बेला गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको पारिजात आमा समूहले सामाजिक दायित्व बहन गर्दै प्रशंसनीय कार्य गरेको छ। आमा समूहकी अध्यक्ष तारा शर्माको नेतृत्वमा सञ्चालन गरिएको घरदैलो अभियानमार्फत स्थानीय बासिन्दाहरूले स्वेच्छाले सहयोग गरेको रकम विपद् व्यवस्थापनका लागि हस्तान्तरण गरिएको छ।

विपद्‌मा परेका नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटाउने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो अभियानबाट ५५ हजार ७ सय ७५ रुपैयाँ सङ्कलन भएको थियो। सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खातामा जम्मा गराइएको समूहले जनाएको छ।

अप्ठ्यारोमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्नु नै वास्तविक धर्म र संस्कृति भएको पारिजात आमा समूहकी अध्यक्ष तारा शर्माले बताउनुभयो। “मुलुक नै विपत्तिको मारमा परेका बेला सबैको साथ र सहयोग जुटाउनु हाम्रो कर्तव्य हो,” अध्यक्ष शर्माले भन्नुभयो, “हाम्रो यो अभियानमा स्थानीयहरूले स्वतःस्फूर्त रूपमा सहयोग गर्नुभयो। यो सानो सहयोगले विपद्‌मा परेका पीडितहरूलाई राहत पुगोस् भन्ने हाम्रो चाहना हो।”

घरदैलो गरी स्वतःस्फूर्त रूपमा सहयोग जुटाएर पारिजात आमा समूहले गरेको यो कदमले समाजका अन्य संघ-संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व बहन गर्न र विपद्को समयमा पीडितको मद्दतमा जुट्न ठूलो प्रेरणा दिएको छ।

तपाईको प्रतिक्रिया