अमेरिका- नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन्। सामाजिक सेवा, स्वास्थ्य कार्यक्रम, महिला सशक्तिकरण तथा सामुदायिक नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी खराल समुदायमा जिम्मेवार तथा समर्पित नेताको रूपमा परिचित छिन्।
नेपालमा रहँदै उनी विभिन्न महिला–उत्थान कार्यक्रम, सहकारी तथा गैर–नाफामुखी संस्थाहरूसँग आबद्ध रहँदै आर्थिक, सामाजिक र मानसिक सशक्तिकरणका परियोजनाहरू सञ्चालनमा नेतृत्व प्रदान गर्थिन्।
अमेरिका आएपछि पनि उनको सामाजिक योगदान निरन्तर रह्यो। उनी लुम्बिनी सेवा समाजमा कार्यसमिति सदस्य तथा महिला संयोजकका रूपमा सक्रिय रहिन्, साथै Nepali Samaj Texas मार्फत स्वास्थ्य, सामाजिक सेवा तथा स्वयंसेवी गतिविधिहरूमा समेत अग्रसर भइन्।
सन् २०१८ देखि NCSC मार्फत कठिन परिस्थितिमा परेका दिदीबहिनी तथा परिवारहरूलाई सहयोग गर्दै आएकी खरालले यसले आफूलाई समुदायलाई नजिकबाट बुझ्ने अवसर दिएको बताएकी छन्।
महिला उपाध्यक्षका उम्मेदवारका रूपमा आफ्नो प्राथमिकता सार्वजनिक गर्दै उनले समन्वय, पारदर्शिता, महिलाको उन्नति तथा समुदायमुखी कार्यक्रमलाई मुख्य एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरिन्। आवश्यक परे नेतृत्व भूमिकामा सक्रिय रूपमा उभिन आफू सधैं तयार रहेको उनको भनाइ छ।
“नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो,” खरालले भनिन्। “यदि समुदायले विश्वास र समर्थन प्रदान गरे, म अझ बढी ऊर्जा, निष्ठा र सेवाभावका साथ NST को यात्रालाई अघि बढाउनेछु।”



















उज्यालो खबर










