×

काठमाडौं। ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्। बैंकको १७औं वार्षिक साधारण सभाले ६ जना सञ्‍चालक चयन गरेपछि सञ्चालक समितिले ढकाललाई चयन गरेको हो।सभाले संस्थापक सेयरधनी समूहबाट ३ र सर्वसाधारणबाट ३ जना चयन गरेको थियो।

संस्थापक सेयरधनीबाट ढकालका साथै रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन्। सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्। सबै सञ्‍चालक निर्विरोध निर्वाचित भएका हुन्।

सभाले आर्थिक वर्ष २०७९/०८० को कुल मुनाफाबाट ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर पारित गरेको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित भएको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्‍चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपश्‍चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ।

बैंकको मुलुकका ७७ वटै जिल्लामा शाखा छन्। बैंकका कुल ३५५ शाखा सञ्‍जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन्। बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया