-हरिप्रपन्न शर्मा
छाडा बाच्छो घर न परको हिँड्छ दु:खी बनेर
बाटाबाटै मनुजहरुले पिट्तछन् झोक्किएर
बाच्छो जन्मे पछि गुणवती गाइले दुग्ध दिन्छ
मान्छे लोभी जब हुनगयो धर्म नै छाडी दिन्छ ।।१।
चुस्ताचुस्तै मनुज बलले तान्दछन् दुग्ध चोर्न
भोका बाच्छा छटपट गरी हेर्दछन् दुग्ध खान
छाडा छोड्छन् घर न वनको घुम्छ सारै कराई
राख्ने पाल्ने मनुज नहुँदा रोडमा बस्छ आई ।।२
जाओस् काहाँ वह छ मनमा घुम्छ बाबा विनाको
वैरागीझैँ अवनितलमा घुम्छ आमाविनाको
देखे मान्छे वरपर घुमी लट्ठीले पिट्न थाल्छ
भेटे खाने दनुज पनि छन् स्वर्गमा पुग्न थाल्छ ।। ३।।
निर्मोही हो मनुज जगको जन्मिए वत्स फाल्छ
बाच्छी देखे वदन उसको हर्षले फुल्न थाल्छ
वृद्धा गाई बहर वनमा छाड्दिने दुग्ध खाई
मान्छे हो या दनुज जगको दुष्ट पापी कसाई ।।४ ।।
आफ्नो पीडा जनसमुहमा पोख्न पाउन्न उल्ले
गर्दा बाँबाँ अबुझ जन छन् वेदना बुझ्छ कल्ले
सुन्ने उस्का जनक जननी बन्धु छैनन् धरामा
धोओस् कस्का घर वह गई हिँड्छ भोकै गरामा ।।५ ।।
बोक्तै हिँड्दा सुरपति महादेव यो पूज्य हुन्थ्यो
कैली गौकोअमृत दुधका धारले स्नान गर्थ्यो
बम्बम् भोले हरहर महादेव भन्दै पुकार्थे
पूजा गर्थे वरपर घुमी प्रेमले माथ झुक्थे ।। ६ ।।
लात्ती लाग्दा विगत दिनमा गर्दथे ढोग सारा
बाच्छो हुन्थ्यो अमरपुरमा मर्त्य पुग्ने सहारा
जोत्तै बारी मनुजहरुको दु:खमा साथ दिन्थ्यो
गाडा तान्दै घर र वनमा मान्छेको साथ हुन्थ्यो ।।७
मर्दापर्दा हरदम सँगै मान्छेको साथ हुन्छु
बस्ता खाँदा सुख र दुखमा मित्रको काम गर्छु
छाड्छौ मान्छे किन हठ गरी भन्छ यो वत्सराज
लाखौंलाखौँ गुनहरु ममा गुप्त छन् खोज आज ।। ८ ।।
शर्मा भरतपुरकाे लक्ष्मी माध्यामिक विध्यालयका सहायक प्रधानाध्यापक हुन् ।





उज्यालो खबर
