×

-कृष्णहरि पौडेल

हामी नेपाली जनताले सङ्‍घर्षको माध्यमबाट शताब्दीऔं निरङ्‍कुश जहानिया राणा शासनलाई हटाएर प्रजातन्त्र स्थापना गर्यौं । त्यसपछि विभिन्न कालखण्डमा भएका राजनैतिक परिर्वतन पछि नेपालमा सुशासन कायम होला, देश समृद्धिको यात्रामा अगाडि बढ्ला भन्ने हामी सवै नेपालीहरुको अपेक्षा थियो । तर त्यसको विपरीत भ्रष्टचार र वेथितिले झन-झन गरिबीको खाडलमा हाम्रो देश धसिँदै गयो , नेपाली नागरिकहरुको समृद्धिको चाहनामा तुषारापात भइरह्‍यो । ठूला-ठूला भ्रष्टाचारका काण्डहरु नियन्त्रणमा आउनुको सट्टा एकपछि अर्को दोहोरिँदै गए ।लामो समयदेखि देशको राजनैतिक तह गैरजिम्मेवार बन्दा शासन संचालनका विभिन्न तहमा नीतिगत, कानुनी, प्रशासनिक, प्रक्रियागत र प्रणालीगत अनियमितता मौलाउँदै गयो । यसले नेपालको विकासको गति र अवस्था नाजुक बन्दै गयो । सदियौं देखिको गरिबी, पछौटेपन, बेरोजगारी, व्यापारघाटा, परनिर्भरता नेपालका विशेषता र नियति बन्दै गए ।
आफ्नो र आफ्नो परिवारको रोजीरोटी र न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि अत्यन्तै न्यून पारिश्रमिकमा दैनिक हजारौं युवाहरु विदेशी भूमिमा रगत पसिना बगाउन वाध्य छन । रोजगारीका निम्ति विदेशिने युवाको सङ्ख्या प्रतिबर्ष पाँच लाख भन्दा बढी छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गए। हाल सम्म करिब ४५ लाख युबा जनशक्ति बैदेशिक रोजगारमा गएको देखिन्छ । एक वर्षको अन्तरालमा विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक अध्ययन शीर्षकमा ६७.७ अर्ब नेपाली रुपैयाँ बराबारको विदेशी मुद्रा बाहिरिएको थियो। आर्थिक वर्ष २०७९र८० मा १ लाख १० हजार जना बिद्यार्थी वैदेशिक अध्ययनमा जाँदा ८९.१ अर्ब नेपाली रुपैयाँ बराबारको विदेशी मुद्रा बाहिरिएको छ ।

यसरी वर्ष २०७९र८० मा मात्रै काम र अध्ययनका लागि करीब नौ लाख युवाले देश छोडे । यो सानो संख्या होइन, देशको युवा उमेरसमूह १६-४० को करीब सात प्रतिशत हो । राजनीति प्रति नेपाली समाजको नै आशा हराएको छ। राजनीति , प्रशासन सबै भ्रष्ट छन् भन्ने सबैलाई थाहा छ । मुलुक भविष्य सम्मै बन्दैन, सुधार हुँदैन भन्नेमा आमनागरिक विश्वस्त भएकाले अभिभावक नै छोराछोरीलाई गच्छे अनुसारका देश पठाउन चाहिरहेका छन् । बर्सेनि हजारौँ विद्यार्थी बिदेसिँदा अर्थतन्त्रमा भार र समाजमा दीर्घकालीन मार परिरहेको छ । विदेश पढ्न जाने विद्यार्थीको कारण नेपालका क्याम्पसमा विद्यार्थी अभाव भएकाले सबैजसो क्याम्पसहरू बन्द गर्नुपर्ने स्थितिमा छन् ।

राज्यले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा पनि सबैका लागि बराबर गर्न सकेन। सेवाको उपलब्धता त बढ्यो, गुणस्तरमा समानता रहेन। धनी र गरिबबीच आर्थिक असमानताको खाडल फराकिलो हुँदै गयो र सामाजिक असन्तुलन बढ्दै गयो।
कृषिको अवस्था पनि नाजुक छ । २०३० को दशकमा नेपालले भारत मात्रै होइन, समुद्रपारसम्मै चामल निकासी गर्थ्यो । २०३०र३१ मा नेपालले रु।दुई करोड ९७ लाखको चामल समुद्रपार निर्यात गरेको थियो । आर्थिक वर्ष २०३५र३६ मा त नेपालले सर्वाधिक रु।२४ करोड ३९ लाख रुपैयाँको चामल निर्यात गरेको थियो । आव २०२७/२८ देखि २०४१/४२ सम्मका १५ वर्षमा नेपालले समुद्रपारिका देशमा धानचामल निर्यात गरेर रु।५४ करोड १४ लाख बराबरको विदेशी मुद्रा आर्जन गरेको तथ्याङ्क छ ।तर अहिले अवस्था फरक छ । आर्थिक वर्ष २०७८र७९ मा चामल मात्रै ४७ अर्ब ५७ करोड रुपैयाँको आयात भयो । मकै, गहुँ, आलु, प्याज, तेल, स्याउ, केरा, सुन्तला माछा, मासु आदि गरी उक्त वर्ष कुल ३ अर्ब ४१ अर्ब ५१ करोड रुपैयाँको कृषि तथा पशुजन्य आयात भएको थियो ।
ब्यापार ब्यवसायको अवस्था झन डरलाग्दो छ ।विगत आर्थिक वर्षमा मात्र देशभरि ३५ प्रतिशत व्यावसायिक सटर, पसल, स्टल बन्द गएका छन् । ६० प्रतिशत साना तथा मझौला व्यवसायीहरू घाटामा छन् ।
देशको यस्तो अवस्थामा पनि नेतृत्व वर्ग उदासिन रहनु, देश र जनताको भविश्यप्रति उपेक्षित रहनु समृद्ध नेपालको परिकल्पना होईन ।हामी आम नेपालीले परिकल्पना गरेको यो अवस्था होइन । हामीले परिकल्पना गरेको देश यस्तो हुनेछ भन्ने थियो :
१० हाम्रो देशमा बाँच्न पाउने अधिकार सर्वोपरि अधिकारको रुपमा हुनेछ। यो अधिकार स्वन्तत्र रुपमा उपयोग गर्न पाईनेछ । हत्या, हिंसा र आतङ्‍कको बर्बर यातनामा बाँच्ने अधिकार कुण्ठित हुने छैन । कसैले पनि पीडाले रन्थनिएर तप तप आँशु चुहाउनु पर्ने छैन ।
२० माध्यमिक तहको शिक्षा अनिवार्य,निःशुल्क र प्रभावकारी हुनेछ । दुई खाले शिक्षा नीति खारेज गरीने छ। सम्भ्रान्त र विपन्न दुबै वर्गले एउटै शिक्षण संस्थाबाट अध्ययन गर्ने स्थिति बन्नेछ। राष्ट्रपतिको सन्तान र मेरो सन्तान एउटै शिक्षण संस्थामा पढेर हाँस्दै हाँस्दै गेटबाट वाहिर निस्कने वातावरण बन्नेछ। शैक्षिक संस्थाहरु उपयुक्त प्रविधिमैत्री बन्ने छन् ।
३० स्वास्थ्य सेवालाई मौलिक अधिकारका रुपमा स्वीकार गरी यसको लाभ लिन सकिनेछ । स्वास्थ्य क्षेत्रमा राज्यको लगानी, सुरक्षामा लगानी गरे जत्तिकै महत्वपूर्ण हो भन्ने मान्यता स्थापित हुनेछ । राज्यले स्वास्थ्यको पूर्णरुपमा जिम्मेवारी लिनेछ । च्याउझैं उम्रिएका हस्पिटलहरु बन्द गराई अन्य क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने स्थिति आउनेछ ।
४० देश बिकासका लागि आवश्यक आधार पर्यटन र उद्योग धन्दा नै महत्वपूर्ण भएकाले उद्योगमा लगानी गरी नागरिकलाई रोजगारी दिने वातावरण बन्नेछ । नागरिकका दैनिक आवश्यकताको परिपूर्ति मूलतः आय र रोजगारसँग जोडिनेछ । रोजगार छ, आय छ भने स्वभाविक दैनिक आवश्यकताका वस्तुहरु जोहो गर्न सम्भव हुन्छ । अन्यथा गास, वास, कपासको नारा अर्थहीन हुन्छ । गाँस बास कपासको उचित ब्यवस्थापन गर्ने वातावरण बन्नेछ । बेरोजगारीलाई रोजगारी दिई बहुराष्ट्रिय र अन्तराष्ट्रिय कम्पनीलाई सहज बनाई युवालाई आकर्षक गर्ने वातावरण बनाइने छ ।
५० हाम्रो देशमा भ्रष्टाचार, लुटपाट, गुण्डागर्दी, बलात्कार जस्ता सामाजिक अपराधको अन्त्य हुनेछ । भ्रष्टाचार र सो कार्यलाई निरुत्साहित गर्ने र कानुनी उपचार गर्ने संस्था अख्तियार दुरुपयोग निवारण आयोगलाई स्वच्छ, पारदर्शी एवं सक्षम बनाईयोस् र तीव्र कार्यान्वयनमा प्रयोग गरी सबैलाई कानुनी उपचार गर्ने स्थिति बन्नेछ । भ्रष्टाचारीप्रति शुन्य सहनशीलता अपनाईने छ । भ्रष्टाचार र अनियमिततामा सँलग्न राजनितिज्ञ, कर्मचारी सवैलाई जेल हालिने छ। अब उप्रान्त कोही राजनीतिज्ञ वा राष्ट्रसेवकबाट भष्टाचारको दुष्प्रयास गरेमा यस्तै नियति भोग्नु पर्नेछ भन्ने सन्देश दिइने छ ।
६०हिमाली, पहाडी, तराई भन्ने भेदभाव पूर्ण शब्द नभइ मात्र हामी नेपाली हौं भन्ने भावना हुनेछ । जात, रङ्‍ग, लिङ्‍ग, वर्ण, सामाजिक वा आर्थिक स्थिति बीचको विभेद हटी समतामूलक समाजको निर्माण हुनेछ ।
७० देशमा सामाजिक कुसंस्कार र अन्धविश्वासको अन्त्य भई बन्द हड्ताल, चक्काजाम, ढुङ्‍गा मुढा, तोडफोडको स्थिति सदाका लागि बन्द रहने छ ।
८० खेतका बाँझा फाँटहरुमा कृषि उत्पादन, पशुपालन एवम् रासायनिक मलको उत्पादन गरी दैनिक उपभोग्य सामग्री स्वदेशमै उत्पादन गर्ने र सहुलियत मुल्यमा किन्ने वातावरण बन्ने छ । हरेक स्थानीय निकायमा उत्पादित खाद्यान्न र दुध, मासु, तरकारीको बजार ग्यारेन्टी गरिने छ । सवै वस्तु राज्यले किसानबाट उचित मूल्यमा किन्ने छ।
९० ठुला र फराकिला राजमार्ग निर्माण गरी प्रत्येक चोकमा ट्राफिक लाईटको व्यवस्था, निःशुल्क पार्किङको ब्यवस्था हुने छन् । प्रत्येक कार्यलयमा पहिला पार्किङ् त्यसपछि कार्यालयको ब्यवस्था अनिवार्य गरिने छ । पूर्वपश्चिम बुलेट ट्रेनको ब्यवस्था मिलाइने छ । मेचीको मान्छे बिहान उठ्छ, महाकालीको अफिस जान्छ, कार्यालय समय सकिएपछि ट्रेन चढ्छ र बेलुका घर फर्किन्छ ।यो अवसरको निर्माण हुने छ ।
१००जल, जमिन, जङ्‍गल, जडिबुटी र जनशक्तिको पूर्ण उपयोग गरी ग्यास र पेट्रोल बिस्थापन गरी बिद्युतिय उपकरण प्रयोग गर्ने वातावरण बन्ने छ ।
११० नेपालको आफ्नो शिरलाई उच्च राख्ने वैदेशिक नीति अपनाई राष्ट्र र राष्ट्रियतालाई विशेष महत्व दिइ कार्यान्वयनको दिशामा अघि बढ्ने वातावरण बन्ने छ । विदेशमा बस्ने नेपालीहरुलाई भोट हाल्न वञ्चित गराउन मिल्दैन। उनिहरुलाई पनि अनलाइन भोटिङ सिस्टमद्वारा नेपालमा मतदान गर्न पाउने गर्ने ब्यवस्थाको सिर्जना हुने छ ।
१२० नेताको सम्भाषण, वार्तालाप आदिमा सभ्य भाषा, सुसंस्कारित जीवनशैली, विकासका नयाँ मोडेल र सम्भावना ल्याउन सक्ने सौहाद्रपूर्ण अवस्थाको परिपाटी पालना गर्ने वातावरण निर्माण हुने छ । नेताहरु एक आपसमा भेट्दा, आमसभामा भाषण गर्दा जहिले पनि सभ्य भाषाको प्रयोग गर्ने छन् ।समृद्धिको कुरा गर । सुशासनको कुरा गर्ने छन् । विकाश योजनाको कुरा गर्ने छन् ।एउटाले अर्कोको कुरा काटने काम नगरुन् ,नाटकै हो, नौटंकी नै हो भन्ने जस्ता लाञ्‍छना सुन्न पर्ने छैन ।
यसरी हाम्रो देशमा उल्लिखित सन्दर्भ कार्यान्वयन गर्ने अवस्था सिर्जना भई अन्तराष्ट्रिय स्तरमा नेपालको छवि, मर्यादा, सहिष्णुता, अखण्डताको उपयुक्त चिनारी रहने छ ।
धन्यवाद !

 

तपाईको प्रतिक्रिया