– कृष्णहरि पौडेल
म हरेक नागरिकमा राजनैतिक सचेतना जागृत गराउनु पर्छ र त्यो चेतना आफैँबाट शुरु गर्नुपर्छ भन्ने विचारले अभिप्रेरित सर्वसाधारण मध्येकै एक सचेत युवा हुँ ।हाम्रो देशको विद्यमान विकृत राजनैतिक अवश्थालाई बुझेको र यसको दुष्प्रभावले जीवनशैली चिन्तन र विचारमा पनि असर परेको कुरालाई हृदयङ्गम गर्न सक्ने यस समाजको एक पात्र हुँ । हाम्रो मुलुकले बेहोरिरहेको राजनीतिको दुर्दशालाई मैले टुलुटुलु हेरिरहन सकिन l म यस विकृतिलाई सदाका लागि निमिट्यान्न पार्न सकिन्छ भन्ने विश्वासका साथ अन्तरात्माबाट नै प्रेरित व्यक्ति हुँ । ममा रहेको परिवर्तनकारी सोच अर्थात राजनीतिक सोच ज्वालाका रुपमा निस्केकोले नै राजनीतिको मैदानका लागि मैले एउटा दरो पाइला टेक्ने मनसायले हेटौंडामा भएको बागमती प्रदेश पहिलो भेलामा सहभागी भई त्यहीबाट संस्थापक बाग्मती प्रदेश सदस्य छनौट भएको हुँ । मेरो उज्यालो चेतना बोकेको मनमा पढेलेखेको युवा राजनीतिमा आउनुपर्ने, आम मानिसले कल्पना गरेको राज्य सत्ता निर्माणमा उपयुक्त र प्रभावी भूमिका खेल्नु पर्ने भन्ने लागेकोले नै यस कार्यमा स्वप्रेरित भई अगाडि बढेको हुँ । अब पढेलेखेका युवा सक्रिय राजनीतिमा होमिने, सङ्गठन निर्माण गरी यसैको सामर्थ्यबाट जनमत लिने, प्रशासनका हरेक क्षेत्रमा उपयुक्त र दमदार प्रभाव पारेर हरेक तह र तप्कालाई सम्बोधन गर्ने, आफूलाई स्वस्थ र स्वच्छ विचारले राजनीतिको मैदानमा उतार्ने उद्देश्यले दृढ इच्छा शक्ति र आत्म विश्वासका साथ राजनीतिमा मेरो उपस्थिति आजको सचेत,क्रियाशील र उपयुक्त ब्यक्तिले गर्नै पर्ने बाध्यात्मक निर्णय हो । यही यथार्थ ठहरका साथ दिर्घकालिन योजना सहित अगाडि बढिरहेको अवश्थामा व्यक्तिगत रुपमा ममा न पदको लालच थियो न खोजीमै । समय सन्दर्भले जुन भूमिका दियो, त्यो भूमिकालाई शून्यबाट निर्वाह गर्नुपर्ने ठूलो जिम्मेवारी प्राप्त भएको बोध भएर अगाडि बढेको हुँ ।
राजनीति मेरा लागि केवल माध्यम हो, साध्य भनेको परिवर्तन नै हो । राजनीति कार्यनीति हो, सैद्धान्तिक स्थितिलाई बदलिँदो दृष्टिकोणका रुपमा परिवर्तन गर्ने मूल्य पनि हो । जनता रहने पाखा–पखेरा, थातथला, आँगन, मझेरी, भञ्ज्याङ टार र उपत्यकामा भएका सामाजिक, प्राकृतिक, सास्कृतिक समस्याहरुको समाधान राजनीतिबाट खोजिनु, दृष्टिकेन्द निर्माण गर्नु, कार्यान्वयनमा ल्याउनु र प्रभावकारी कदम बुलन्द रुपमा प्रस्तुत गर्नु पनि सान्दर्भिक राजनीतिक मूल्य हो भन्ने ठहरको साथ राजनीतिका खुल्ला मैदानमा दमदार उपस्थितिका साथ उर्जाशील भूमिका निर्वाह गर्छु भन्ने सदाशय बोकेर आएको हुँ । राजनीति जनताका जीवनसँग अर्थात गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारसँग जोडिएन भने तिनसँग सहकार्य गरिएन भने राजनीतिको सिद्धान्त दर्शनशास्त्रको ठेली मात्र हुनेछ ।राजनीतिमा देखाइएको विद्धता कान्ला, गल्ली, कुइनेटा, काँठ छोडेर आकाशे मार्गजस्तो स्वैर काल्पनिक उडान मात्र बन्दछ । मेरो राजनीतिक उपस्थिति सकारात्मक सोच र बदलिँदो जीवन दृष्टिकोणसँग केन्द्रित रहनेछ भन्ने प्रतिवद्धताका साथ उभिएको हुँ ।
हरेक मान्छेसँग विचार हुन्छ , विचारद्वारा उ निर्देशित हुन्छ तर त्यो विचारले कस्तो कुरा निर्देश गर्छ भन्ने कुरा व्यक्तिमा भर पर्छ । उसको दृष्टिकोणमा भर पर्छ । उसको मान्यतामा भर पर्छ । म राजनीतिको कष्टकर दुःसाध्य मार्गमा लाग्नुको उद्देश्य मैले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने कुरामा केन्द्रित पनि रहेको छ । समृद्ध नेपाल निर्माण गर्नु भनेको आफ्ना मौलिक पहिचानको जगेर्ना गर्नु, हरेक तह र तप्काको मागलाई सम्बोधन गर्नु, तिनका समस्याका सूक्ष्म जरामा पुग्नु र तत्काल उपचारका कार्य दिशा खोज्नु ,नीति निर्माण बदल्नु र देशको सर्वाङगीण पक्षका विकासमा योद्धा झैं होमिरहनु हो । अन्तराष्ट्रिय मापदण्डमा नेपालको बदलिँदो सोच र शैली प्रस्तुत गर्नु हो । समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई आत्मसात गर्ने गराउने वातावरणको सिर्जना गरी वास्तविक उपयुक्त नेता बन्न वा छनोट गर्न सकेमा मातृभूमिको सेवा पनि हुने र आमाको दूधको भारा पनि तिर्न सकिने कारण र कार्यलाई जरैदेखि बुझ्ने र खोतल्ने मनसायले अभिप्रेरित भएको देशको मेरुदण्ड मानिने युवा पनि भएकोले म आत्मकेन्द्रित हुँदै यस घडीमा तीन करोड नेपालीको लागि केही गर्न सक्छु भन्ने मनसायले राजनीतिमा आएको हुँ । “मानिस गतिशिलहुनुपर्छ । समय परिवेश अनुसार परिवर्तन हुन सक्नुपर्छ” भन्ने भनाइले सबैलाई नछुन सक्छ तर मलाई छोएको हो र म पनि त्यही मान्यता स्थापित गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छु । कुनै पनि पदमा एउटै व्यक्ति जरा हालुन्जेल बस्नु हुँदैन , एउटा निश्चित विन्दुमा पुगीसकेपछी त्यस ठाउँको लागि अर्को व्यक्तिले भूमिका निर्वाह गर्न पाउनु पर्छ ।
देशमा विद्यमान विगतका जल्दाबल्दा समस्याहरु
२०४८ साल बैशाख २९ गतेको चुनावपछि गठन भएको सरकार विवादमा पर्दै जाँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारको नीति तथा कार्यक्रम पारित नभएपछि पहिलोपटक २६ असार २०५१ मा प्रतिनिधि सभा विघटन गरे मध्यावधि निर्वाचन गराए । उक्त निर्वाचनबाट अल्पमतको सरकार बनाउँदै तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले ९ महीना सरकार चलाए।आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गरी विशेष अधिवेशन बोलाइएको अवस्थामा प्रतिनिधि सभा दोश्रो पटक २०५२ जेठ २६ गते प्रधानमन्त्री अधिकारीले प्रतिनिधिसभा विघटन गर्न तत्कालीन राजासमक्ष सिफारिस गरे । तेस्रोपटक विसं २०५४ पुस २४ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राजा वीरेन्द्र शाहलाई सिफारिस गरे । राजाले सो सिफारिसलाई कार्यान्वयन नगरी सर्वोच्च अदालतसँग राय माग्दा सर्वोच्चले विघटन नगर्ने राय दिएको थियो। तसर्थ प्रतिनिधि सभा विघटनको सिफारिस भयो तर कार्यान्वयन भएन। चौथौपटक प्रतिनिधिसभाको बैठक चालू रहेको १५ औँ अधिवेशनको बीचमै विसं २०५५ माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा पुनः विघटन गरे। पाँचौँ पटक विसं २०५९ जेठ ९ गते प्रतिनिधिसभाको बैठक बस्ने गरी संसद्को २२ औँ अधिवेशन आह्वान भएकामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरे । त्यसै गरी छैटौँ पटक २०७७ पौष ५ गते र फेरि सातौँ पटक २०७८ जेठ ७ गते मध्यराति के.पि. शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे ।
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन्। तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन्।विघटित प्रतिनिधिसभा तीनपटक सर्वोच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको छ । झण्डै दुई तिहाइ बहुमत प्राप्त गर्दा पनि के त्यस्तो भवितव्य पर्यो र पटक पटक संसद विघटन गर्नुपर्ने स्थिति सिर्जना भइरह्यो ? जनमतको वारम्वार किन अपमान भइरह्यो ? यी प्रश्नहरू मेरा मनमा अनुत्तरित छन् ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संवैधानिक अभ्यासमा छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि जनताले गरेको ऐतिहासिक जनआन्दोलन र संघर्षको परिणाम नेपालको संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिको सङ्कल्प गरेको अवस्थामा आन्दोलनलाई नै रुपान्तरणकारी कदम मानिएको र अग्रगामी स्थितिको कारक ठानिएको नयाँ संविधान सभा निर्माण गर्ने कार्यनीति किन फितलो भयो ? आन्दोलनको जगमा उभिएको पहिलो संविधान सभाले दुई वर्षमा संविधान बनाउने भनेको चार वर्षमा ९ खर्ब खर्च गरेर पनि संबिधान जारी गर्न नसकेपछी स्वत:ह विघटन हुने अवस्था सिर्जना हुनमा कारक रुपमा को देखिन्छ ? व्यक्ति वा व्यवस्था ? यो प्रश्न पनि मेरा निम्ति छटपटी र उत्सुकताको विषय बनेर अनुत्तरित नै रहयो । अन्तिम समयमा हामीले संविधान प्राप्त गर्यौं त्यो पनि विविध आलोचनाका रुपमा यथावत छँदैछ ।
सत्ता जहिले पनि बच्चाको लागि ललिपप जस्तै गुलियो भइरह्यो, सत्तालाई केन्द्रमा राख्ने यसको वरिपरि घुम्ने स्वार्थलोलुप प्रवृत्ति नेतामा पनि देखियो, नेताहरुमा व्यक्तिगत स्वार्थ हाबी भयो । गुट र उपगुट बनाउने, हामी छोडेर ममा रमाउने, गुटलाई हरदृष्टिबाट समृद्ध बनाउने अवसरवादी धारणबाट ग्रसित, राजनीतिको क्रमभङ्गता नचाहने, संसदीय व्यवस्थामा स्थिरता र विकास कहिल्यै नपर्ने, आरोप प्रत्यारोप गरिरहने, प्रतिशोध राख्ने र अरुलाई बजार्न सम्म बजार्ने र आफू सधैँ उँचो स्थानमा राख्ने परिपाटीले राजनीतिक परिस्थिति सँधै सत्ताको दाउपेच र भिडन्तमा नै सधैँ किन भइरहेको छ ? यो पनि मेरा लागि अनुत्तरित प्रश्नको रुपमा रह्यो ।
जनता आफूलाई जिताउन भर्र्याङ् बन्नुपर्ने स्थिति, जनताले आफ्नो नेता छान्ने अधिकार कुण्ठित भएको अवस्था आजको समस्या हो । सिद्धान्तलाई फाल्नुपर्ने, ताल न बेतालको गठबन्धनको धङधङी अँगाल्नुपर्ने, आफ्नो पार्टीगत मूल्य र पहिचानलाई कौडीको भाउमा बेच्नुपर्ने स्थिति,पार्टीगत आस्थाका धरोहर मानिने व्यक्ति र सिद्धान्त ढल्दै चकनाचुर भएको अवस्था किन सिर्जना भयो ? जनताले सार्वभौम सत्ताको अनुभूति गर्न नपाउने र स्व-अधिकारको प्रत्याभूति महशुस गर्न नमिल्ने अवस्था किन र कसरी सृजना भयो ? यो पनि निरुत्तर नै रहयो ।
अन्तराष्ट्रिय स्तरमा नेपाली राजनीतिको मूल्य र गौरव असाध्यै क्षीण र न्यून भएको अवस्था छ । यो आफ्नो अदक्ष कार्यशैलीका कारण सधै विवादास्पद र आलोचित पनि छ । वास्तवमा परम्परागत,रुढयान्त्रिक र जटिल मनोविकृति र विकारले ग्रस्त भएका व्यक्ति र सोचलाई जरै देखि नबढारेसम्म हाम्रो राजनीतिक अवस्था सुध्रिने छैन । किन यस्तो प्रतिगमनकारी सोच हावी भएको होला भन्ने प्रश्न पनि निरुत्तर नै रहयो ।
कुनै पनि मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि बलियो सरकारको आपेक्षा हुन्छ । तर नेपालमा कमजोर राजनीतिक संस्कारले सत्ता बदलिइरहे । सरकार कसरी बदल्ने भन्नेमा नै नेताहरुको चासो केन्द्रित भयो । प्रजातन्त्रको पुर्नबहाली भएका अवस्थामा पनि ३० वर्षमा २८ वटा सरकार बन्ने र ढल्ने खेल चलिरह्यो । यसबीचमा सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न सकेनन् । संसदहरु मुल्य तोकेर सत्ताकै लागि किनिए, बेचिए । हामीले जागरुकताका साथ जिताएर पठाएका प्रतिनिधिको अदूरदर्शी, स्वेच्छाचारी र धन सञ्चय गर्ने प्रवृत्तिले नै नेपाली राजनीतिको ढाड सैद्धान्तिक र प्रायोगिक रुपमा थलिएकोले हामी जनता जनार्दनले पाउनुसम्म दुःख पाउनु परेको हो । कम्युनिष्ट, काङ्ग्रेस दुवै पार्टीमा नै यस्ता खालका प्रवृत्ति देखिएको कारण के होला ? भन्ने प्रश्न पनि अनुत्तरित भयो ।
सरकार व्यवस्था हो, व्यक्ति होइन । यो समष्टि हो व्यष्टि होइन ।यसका गतिविधि जनता सापेक्ष हुनुपर्छ । व्यक्ति चालित र निर्देशित हुनु हुँदैन भन्ने सोच पनि यावत नेतामा प्राप्त गर्न नसक्दा समस्याका खातैखात उल्टिरहेको, विकासका फाइल योजनाविहीन सजिरहेको अवस्थामा देखिँदा यो भयावह स्थिति किन सम्बोधन भएन भन्ने प्रश्न पनि यथावत अनुत्तरित नै रहयो ।
हजारौं जनताका निरुत्तर प्रश्नहरु, धङधङी मात्र ओकलिरहेको विकास, खातैखात थुप्रिएका र अघि बढ्न नसकेका योजना, प्रशस्त जलसम्पदा हुँदाहुँदै पनि बाँझा र अनुर्वर भएका फाँटहरु, खेत र गराहरु आदिबाट सर्वसाधारण आम जनतामा निराशा छाएकोले, आक्रोश र पीडा छरपष्ट देखिएकोले, शासन व्यवस्था र कार्य प्रणालीबाट असन्तुष्ट भएको अवस्था भईरहँदा मेरो उपस्थिति राजनीतिमा किन नहुने ? गम्भीर भएर हामीले चाहेको सपनाको देश नेपाल, स्वच्छ समुन्नत र सुन्दर परिकल्पनाको देश निर्माण त्यो सम्भव छ भन्ने जिज्ञासालाई समाधान गर्न नै राजनीतिमा होमिने सङ्कल्प गरेको हुँ ।
( लेखक पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय शिक्षा विभाग सदस्य हुनुहुन्छ।)