×

कृष्णहरी पाैडेल 

मानिस बौद्धिक, सचेत प्राणी भएकाले परिवर्तन चाहनु उसको नैसर्गिक स्वभाव हो। हिजो ढुङ्गेयुगबाट हुर्केको मानिसका कति पुस्ता त बाँदरको जस्तै जङ्गली जीवन वितायो। कति पुस्ता घर न घाटसँग जङगलमै गुजार्यो। अहिले सबै जनावरहरू जसरी बाची रहेका छन् त्यसरी नै बाच्यो। क्रोम्यान, होमोपिथेकस जस्ता मानिसका विभिन्न स्वरूप र अवस्थाहरूको अवशेष अहिले पनि अध्ययनका विषय बनेका छन्। त्यो समयमा पनि मानिस एउटा समूह बनाएर बस्थे। मिलेर सिकार खेल्थे । मिलेर खान्थे, पछि जब उनीहरूले धारिलो हतियार आदिको प्रयोग गर्दै गए जीवन भोगाइ अलि सजिलो हुँदै गयो। मानिसहरूले बिस्तारै घुमन्ते जीवन छाडे र स्थिर जीवन शुरू गरे । तिनीहरू गुफा, मैदान र शिविरहरूमा सानो समूहमा बस्न थाले । तिनीहरूले कोसिस गर्दागर्दै आगो निकाले र बिस्तारै खाना पकाएर खान थाले । सबै समाज वा मानिसहरू आवश्यक्ताको आधारमा परिवर्तन हुन्छन् । घुमन्ते जीवनबाट ससानो समूह हुँदै आगो फेला पारेर खाना पकाएर खाने युगको विकास हुनु आवश्यकताले ल्याएको परिवर्तन हो । जनसङ्ख्याको वृद्धिसँगै मानिसहरूले भोकमरीबाट बाँच्न कृषि तथा पशुपालनको सुरूवात गर्यो । कृषिले एक स्थायी अस्तित्वको माग गर्यो र पहिलो स्थायी समाजको गठन भयो । मानिसहरू माटाको गोलाकार घरमा बसोबास गर्न थाले । मानिसको समयक्रमसँगै शारिरीक संरचनामा पनि परिवर्तन हुँदै गयो। चेतना स्तर पनि वृद्धि हुँदै गयो र परिवार, समाजको आवश्यकता महसुस गर्दै गयो। परिवार, जिल्ला, प्रदेश, देश, महादेश हुँदै एउटा पृथ्वीमा मानवले आफ्नो अस्तित्वको विकास गर्दै गयो।

हिजो ढुङ्गेयुगमा सबै समान थिए। बाँच्नु मात्र त्यो बेलाको आवश्यकता थियो। आज मानिसको आवश्यकता समयसँगै परिवर्तन भएको छ। शिक्षा, स्वास्थ्य, रोजगार, गाँस, बास, कपास, स्वतन्त्रता, अहिले आवश्यकताको प्रमुख सूचीमा परेको छ। मानव विकासको सबैभन्दा उत्तम तथा विकसित चरण आधुनिक युग हो । हामी बसेको र अधिको युग नै आधुनिक युग हो । यस युगमा सभ्यताको विकास उच्चतम चरणमा प्रवेश गरेको छ । धर्म तथा संस्कृतिको विकास यस युगको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । वैज्ञानिक आविष्कार, विज्ञान तथा प्रविधि, सूचना प्रविधिको विकास आधुनिक युगका परिचायक हुन् ।

मानव सभ्यताको सुरुआतमा त संसार भरिका मानिसहरूको स्तर एउटै थियो। सबै विश्व समान आर्थिक हैसियत, समान भौतिक अवस्था, समान नियम, कानुन सबै सबै। समयसँगै मानिसहरूमा ठाउँ पिच्छे फरक फरक धारणा, आवश्यकता, चेतनाको विकास हुँदै गयो। बस्नको लागि घर, टोल, समाज, जिल्ला, पालिका देश महादेशको सिमानाहरु कोरिदै गए । आफ्नो घर परिवार कसरी राम्रो र समृद्ध बनाउने, आफ्नो टोल समाज हुँदै देश कसरी सवल र अरुभन्दा फरक बनाउने भन्ने विचार आउँदै गए । जसले यी कुराको चिन्तन गर्यो उसैले नेतृत्व गर्‍यो । नेतृत्वले गरेको बिचार चिन्तन र खाका अनुसार देशको स्वरूप, जनताको स्वरूप, विकास समृद्धि, शिक्षा सम्पूर्णमा फरक हुँदै गयो। विभिन्न दर्शन र आदर्शहरुको विचारलाई कार्यान्वयनमा लगिँदै गर्यो। शासन प्रणालीका विभिन्न मोडलहरुको निर्माण र परीक्षण हुँदै गए र संसार आजको आधुनिक युगमा प्रवेश गर्यो। कुनैपनि देशको अवस्था कस्तो भन्ने कुरा कस्ता आदर्श सिद्धान्तले शासन गर्यो भन्ने कुरामा भरपर्दो रहेछ। कस्तो चिन्तन भएको शासकले शासन गर्दो रहेछ भन्ने कुरामा भर पर्दो रहेछ। आज देशै पिच्छे फरक फरक आदर्श सिद्धान्तहरू बोलवाला छ भने देशै पिच्छेको जनताको चेतनाको स्तर, विकाशको स्तर, शिक्षाको स्तर, स्वास्थ्यको अवस्था फरक फरक छ।

मानव सभ्यताको प्रारम्भ देखिनै मानिसहरू एक आपसमा पारस्परिक सहयोग, सहकार्य एवं सहमतिमा समाजलाई अगाडि बढाउँदै गए। आफ्नो समाजको नेता छान्न एवं ‌जङ्गलमा शिकार खेल्न जाँदा बाटो विराएमा बहुमतको राय अनुसार आफ्नो बाटो पहिल्याउने परम्परालाई ढुङ्गेयुगको लोकतान्त्रिक संस्कृति मान्नु पर्छ। समयक्रमसँगै भौतिक उत्पादनका प्राकृतिक र मानवीय स्रोतहरूमाथि सीमित व्यक्तिले आफ्नो प्रमुत्व कायम गर्न थाले । फलस्वरूप सामन्ती वर्ग र निमुखा शोषित जनता विच सामाजिक विभाजनको रेखा कोरिँदै गयो। वैज्ञानिक खोज, उद्योगधन्दा, कलकारखानामा मुठ्ठीभरका व्यक्तिहरूको नियन्त्रण हुँदै गयो । मजदुरहरुलाई सस्तो ज्याला दिएर लामो समयसम्म काममा लाउने र महङ्गो मूल्यमा वस्तुहरूको बिक्री गर्न थालियो। उत्पादन वृद्धि हुँदै जाँदा बजार विस्तार गर्ने क्रममा साम्राज्यवादलाई पनि व्यापकता पारियो। उद्योगधन्दा भित्रको अन्याय र अत्याचार विरुद्ध मजदुरहरुलाई एकताको भावना विकसित गराई आफ्ना आवश्यकताहरुलाई सङ्गठित र प्रभावकारी ढङ्गले प्रस्तुत गर्न मजदुरहरु एकजुट भए। समाजमा अन्याय अत्याचार एवम् शोषणको पराकाष्ठा युरोपको औद्योगिक क्रान्तिको बेला अनुभव गरियो ।त्यसैले समाजवाद निर्विवादरुपमा आर्थिक शोषणको अन्त्य गर्ने उद्धेश्यले स्थापित एक राजनीतिक चिन्तन हो । औद्योगिकीकरणले ल्याएको सामाजिक आर्थिक विषमता नै समाजवादी चिन्तन र आन्दोलनको प्रमुख कारण रह्ये।

फ्रान्समा हेनरीसेन्ट, चार्ल्स फौरियर, फ्रेडरिक एंगेल्सले फ्रान्समा भने बेलायतमा रबर्ट ओबन, जर्मनीमा कार्लमार्क्सले समाजवादी विचार र आन्दोलनलाई बढी प्रभावित पारे । पाश्चात्य जगतका  सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रबर्ट ओबनले सर्वहारा वर्गको उन्मुक्ति र उत्थानका लागि पुँजीपति वर्ग र श्रमिक वर्गका बीचमा हितको संरक्षण हुन सक्ने वैचारिक आधार प्रस्तुत गरे, जसलाई कुनै न कुनै रुपमा माक्र्स र एंगेल्सले आफ्नो कम्युनिष्ट विचार र माक्सवादी चिन्तनका वैचारिक बहस चलाएका थिए ।प्रत्येक गतिशील र परिवर्तनशील वस्तुले आफूभित्र विरोधी तत्वपनी आत्मसात गरिरहेको हुन्छ। ती विरोधी वस्तुहरूबीच पारस्परिक सङ्घर्ष र द्वन्द चलिरहन्छ । समाजवादको सारभूत महत्वपूर्ण पक्ष वर्ग समन्वयको आधार यिनै समाजवादी चिन्तक तथा दार्शनिकहरुले तयार गरेका हुन् । यो द्वन्दले वाद, प्रतिवाद, र संवादको रूप लिँदै जान्छ। मार्क्सले समाजको विकाशको क्रममा पुँजी निर्माण भनेको वाद, त्यसको विरोध प्रतिवाद र सर्वहारावर्गको आधिनायकत्व रहेको समाजवादको स्थापना संवाद हो भनेका छन्। यसरी निरन्तर रूपमा चलिरहने क्रान्तिद्वारा स्थापना हुने वर्ग विहिन र राज्य विहिन समाज नै वैज्ञानिक समाजवाद हो। रुसका मार्क्सको कट्टर समर्थक लेनिनले संसदीय प्रक्रियाबाट मार्क्सले परिकल्पना गरेको समाजवाद वा साम्यवाद सम्भव नहुने कुरामा दृढ थिए। सन् १९१७ मा रुसमा भएको बोल्सेभिक क्रान्तिपछि लेलिनले मार्क्सको साम्यवादी चिन्तन पछि सैद्धान्तिक र रणनैतिक कुरा थपे जसको आधारमा साम्यवादलाई मार्क्सवाद लेलिनवाद पनि भनिन थालियो र सन् १९१९ मा भएको सम्मेलनपछि युरोपका सर्वहारावादीहरुले आफूलाई साम्यवादी भन्न थाले र अन्तराष्ट्रिय साम्यवादी गुटको निमार्ण भयो।

यसअघि १९१८ मा प्रजातन्त्र बिनाको समाजवाद अकल्पनीय भन्दै लेलिनको दृष्टिकोणलाई कालकाउटस्कीले चुनौती दिँदै सर्वहाराको नाममा र एकतन्त्रीय सर्वसत्तावादको प्रमुत्ववाट समाजवादलाई मुक्त राख्न सफल रहे। र साम्यवाद र समाजवाद दुई अलग धारको रूपमा स्थापित भए ।

समाजवाद

समाजवादको सामान्य अर्थ उत्पादनका साधन र तिनीहरूको स्वामित्व र व्यवस्थापन राज्यको नियन्त्रणमा हुनु तथा जे जति उत्पादन हुन्छ त्यो सम्पूर्ण समाजको लागि हुनुपर्ने वा गर्नुपर्ने अवधारणा हो । समाजवाद एउटा यस्तो राजनीतिक पद्धति हो जसले वस्तु तथा अवसरहरूको सम्पूर्ण उत्पादन वितरण र सदुपयोगको प्रक्रियामा समाजका सबै सदस्यहरूको समानुपातिक स्वामित्वको ग्यारेन्टी गर्दछ। समाजवादी राज्य व्यवस्थामा जीवनका लागि अत्यावश्यक कुराहरू राज्यको दायित्व हुन्छ। राज्यद्वारा सिर्जित सबै अवसरहरूको स्वामित्व सबै जनतामा कायम रहन्छ।समाजवादको मूलभूत् सिद्दान्त यी हुन् :

-समतामूलक समाज र उत्पादनको स्रोत साधन सबैलाई समान हुने

-उत्पादनमा सरकारको स्वामित्व रहने तर उपभोग समान हैसियतमा नागरिकको रहने, व्यक्ति विशेषमा नरहने

-उत्पादनको संसाधन मजदुरको नियन्त्रणमा रहने

-शिक्षा स्वास्थ्य सबैलाई समान, नि:शुल्क प्रदान गरिने

आधारभूत आवश्यकता जनताको आधिकारका रूपमा स्थापित गरिएका हुन्छन् र यसको परिपूर्ति सरकारको जिम्मेवारी भित्र पर्दछ। नेपालको संविधान २०७२ ले संविधानको धारा १६ देखि ४८ सम्म ३२ वटा अधिकारलाई मौलिक आधिकारका रूपमा व्यवस्था गरेको छ र यी आधिकारको परिपूर्ति गर्नु राज्यको दायित्व रहन्छ।

नेपालका सबै प्रमुख राजनीतिक पार्टीहरू समाजवादमै विश्वास गर्छन्। कोही समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य राख्छन् भने कोही प्रजातान्त्रिक समाजवादबाटै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण हुन्छ भन्ने ठान्छन्। लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् समाजवाद उन्मुख प्रणालीको प्रस्तावना नेपालको संविधान २०७२ ले परिकल्पना गरेको छ। नेपालको संविधान २०७२ को प्रस्तावनामा ” समाजवाद प्रति प्रतिबद्ध भनिएको छ भने धारा ४ मा नेपाल राज्यको परिभाषा दिने क्रममा समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनिएको छ। यसरी हेर्दा समाजवादलाई राजनीतिक तथा सामाजिक विकासको गन्तब्य मानेकोले नेपाल समाजवादप्रति प्रतिबद्ध र समाजवाद उन्मुख सामाजिक- आर्थिक रुपान्तरणका निमित्त तयार रहेको देखिन्छ । नेपाली कांग्रेसले अवलम्बन गरेको समाजवाद र नेपाल कम्युनिस्ट पार्टीले भनिरहेको समाजवादबीचको अन्तर के हो ?

नेपालमा समाजवादको आ आफ्नो परिभाषा छन्।

(१) विपि कोइराला विश्व समाजवादी आन्दोलनका अग्रणी व्यक्तित्व थिए ।उनी अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गरेका लोकतान्त्रिक समाजवादको सपना देखेका पहिलो नेपाली समाजवादी नेता थिए । हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एकहल गोरु, गरिखान पुग्ने जमिन औषधिमुलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस्। जसले जोत्छ उसको जमीन होस् भन्ने विपीको समाजवादी धारणा थियो।

समाजवाद भनेको एउटा ठूलो सभ्यता र संस्कृति हो, यसले आर्थिक पक्षलाई मात्र होइन मानव सभ्यताको तमाम कलात्मक र सांस्कृतिक पक्षलाई समेत छिचोलेको हुन्छ। जहाँ जनताका नैसर्गिक मौलिक हक अधिकारहरु सुरक्षित हुँदैनन्, त्यहाँ खान लाउन पाएर मात्र मानिसको इच्छा र चाहना पुरा हुनसक्दैन । स्वतन्त्रता बिनाको गाँस, बास र कपास पशु आहार सरह नै हो । मानव चेतनाले पशुपक्षीलाई जस्तो टन्न अघाउँन्जेल खाना पाएपनि बन्धनमा रहन रुचाउँदैन । मानिसका लागि स्वतन्त्रता अति प्रिय चिज हो, जस्लाई जेलका कैदीले जसरी आहार र भोजनमा साटन सकिंदैन । पिजडामा बसेको चरा, बन्धनमा बाधिएको पशु र जेलमा बसेको कैदी पनि खुल्ला र स्वतन्त्र भएर जिउन चाहन्छ । विपि कोइरालाको प्रजातान्त्रिक समाजवादले कुनै पनि प्रकारको अधिनायकवाद र तानशाही सत्तालाई स्वीकार गर्दैन । त्यसैले विपिले भन्नुभएको छ कि मानिस ब्रेडले होइन, ब्रेनले चल्ने गर्दछ । मान्छेको उत्थानमा भावनाले महत्त्वपूर्ण स्थान ओगटेको हुन्छ। न्याय, समानता, स्वतन्त्रता र जनहितमा समर्पित लोक कल्याकारी राज्य व्यवस्थासहितको समाज हो विपिले भन्नुभएको वास्तविक प्रजातान्त्रिक समाजवाद ।

(२) वामपन्थी नेता मोहनविक्रम सिंहको भनाइमा ” अहिलेको राजनीतिक र आर्थिक अवस्थामा शान्तिपूर्ण संसदीय चुनावद्वारा समाजवादी व्यवस्था सम्भव नभएको, संसारमा कतैपनि यस्तो उदाहरण नभएको, कतिपय देशमा सामाजिक प्रजातन्त्रवादीहरुले चुनावद्वारा सरकार बनाउने र समाजवादको कुरा गर्ने गरेको भएपनि उनीहरूको समाजवाद पुँजीवादी परिप्रेक्ष्यमा सिमित रहने गरेको” भन्ने छ ।पूँजीवादमा ५० जना मजदुरले एउटा कुनै फ्याक्ट्रीमा १० लाख कमाइ भएमा ८ लाख कम्पनी मालिकको हातमा पर्छ भने २ लाख मजदुर अथवा कामदारले ज्याला पाउँछन् तर समाजवादमा के हुन्छ भने ५० जनाकै हातमा त्यो १० लाख बराबर पर्छ । यसलाई जनकल्याण नीति पनि भनिन्छ । समाजवादमा सबैको बराबर अवसर हुनुपर्छ भन्ने मान्यता छ ।

विभिन्न विश्लेषक र चिन्तकहरुको परिभाषा भिन्दा भिन्दै छ। विश्वमा बढ्दो असमानताका कारण समाजवादी रूप र अर्थ व्यवस्थाका चिन्तनले ठाउँ बनाउँदै गएको छ। संसारका विभिन्न मुलुकहरूमा आयको वितरणमा समानता छैन। सन् १९९० मा सबैभन्दा धनी १० प्रतिशत जनसङ्ख्याको हातमा सबैभन्दा गरीब १० प्रतिशत जनसङ्ख्याको भन्दा ६ गुणा बढी आम्दानी थियो भने सन् २०१० मा आइपुग्दा यो १२ गुणा भयो। सन् २००४ देखि २०१३ बीच विश्वका विभिन्न मुलुकहरूमा असमानताको हद यतिसम्म दयनीय बन्यो कि गरिबीको रेखामुनि बाँच्नेहरु ६५ देखि ७४% पुगे। अफ्रिकी क्षेत्रमा एकातिर १६ जना अर्वपतिसित अथाह सम्पत्ति छ भने अर्कोतिर ३५ करोड ४० लाख अति गरिबहरू भोकभोकै छन्। त्यस्तै नेपालको कुरा गर्दा माथिल्लो १० प्रतिशत धनीसँग तल्लो तहका ४० प्रतिशत गरीबसँग भन्दा २६ गुणा धेरै सम्पत्ति रहेको अक्सफामको आकलन छ । सम्म्रान्त भनेर चिनेनेहरुले विश्वकै राजनीति र अर्थतन्त्रमा कब्जा जमाएकाले पनि असमानताको खाडल झन् झन् फराकिलो भएको देखिन्छ भने यसमा सुधार आउने बाटो नदेखिनु दुःखको कुरा हो।

नेपालको सन्दर्भमा समाजवादी आन्दोलनको इतिहास लामो छ। करिब २ सय वर्षदेखि सामाजिक–आर्थिक विषयसँग जोडिएर आएको समाजवादको प्रसङ्ग नेपाल जस्तो विपन्न, पछौटे, सीमान्तीकृत, विभेद र छुवाछूतमा निर्लिप्त समाज रहेको देशमा समाजवाद आकर्षणको विषय जहिल्यै पनि हुन्छ। संवैधानिक व्यवस्थाले नेपालले अपनत्व जाहेर गर्ने समाजवाद मार्क्सवादी वा साम्यवादी नभएर नेपाली विशेषता र विशिष्टताहरुमा आधारित लोकतान्त्रिक संवैधानिक समाजवाद हुने कुराको ग्यारेण्टी गरेको छ। नेपाली विशिष्टता र मौलिकताको समाजवाद भनेको यथार्थमा विकाश र समृद्धितिर अघि बढ्नु हो। लोकतन्त्र र समाजवाद फरक विषय वस्तु हुन् । लोकतन्त्र राज्यको राजनीतिक पाटो हो भने समाजवाद आर्थिक पाटो हो । लोकतन्त्रले जनतालाई शासन सत्ता सञ्चालन गर्ने , जनताको हकअधिकार लगायत लोकतन्त्रको सम्पूर्ण मूल्य-मान्यताको अभ्यास गर्ने र राजनीतिक समानताको ग्यारेन्टी गर्छ भने समाजवादले राज्यको आर्थिक गतिविधि स्रोतसाधनको उत्पादन वितरण तथा आर्थिक समानताको ग्यारेन्टी गरिन्छ। लोकतन्त्रले जनतालाई शासन सत्ताको मालिक बनाउँछ भने समाजवादले सम्पत्तिको मालिक बनाउँछ। नेपाल बहुजातीय, बहु भाषिक, बहु-धार्मिक र भौगोलिक हिसाबले विविधता भएको मुलुक जहाँ वर्गीय मात्र होइन जातीय, धार्मिक, भाषिक , क्षेत्रीय,लैङ्गिक विभेद र उत्पीडन छ । यी उत्पीडितहरुलाई न समाजवाद नत लोकतान्त्रिक राज्य सत्ताले हल गर्न सक्यो, नेपालमा न त लोकतन्त्र छ न त समाजवाद । लोकतन्त्र र समाजवाद मात्र संविधान र पार्टीको घोषणापत्रको पानामा छ ।

नेपाली समाजवादी क्रान्तिका वाधक

(१) विसङ्गतिहरूको निरन्तरताः

इतिहासको प्रारम्भ देखिनै रहेको राजतन्त्रात्मक एकात्मक राजनीतिक व्यवस्था भित्र मौलाएको एकलौटी, जहानियाँ, तानाशाही, केन्द्रीकृत हुकुमी शासनका कारणले हुर्किएका सामन्तवादी चरित्र, मनोविज्ञान र मनोनैतिक धारणा एवं प्रवृत्तिहरूको निरन्तरता खासगरी जातिवादी वा छुवाछुतको भावना, महानता, निचता, धनीप्रतिको आदार‌ गरिवप्रतिको घृणा, हली, गोठाली, नोकरचाकर, खेताला, बटैया, कमैया, लगायत भाग्यवादको मनोविज्ञान, आध्यात्मिक अन्धविश्वास, अन्धआस्था र अन्धपरम्परका प्रकृति एवं विसङ्गतीहरु नेपाली समाजको संरचनाका अन्तर्य हुन। यसले समाजवाद र समृद्धिमा असहज अवस्था पैदा गर्दछ।

(२) अस्थायी शासन

नेपाल यस्तो देश हो जहाँ जनजातिहरु जंगलमा डुलुवा वा अस्थाई बसोबास गरेका छन्। कतिपय जनजातिहरु शुन्य साक्षर छन्। ४०% भन्दा बढी नागरिक गरिबीको रेखामुनि छन्। वर्षभरि थेग्ने लुगाकपडा लगाउन नसक्ने, लंगौटी, कट्टु, गम्छा, धोती, र गञ्जीमा अर्धनग्न अवस्थामा जीवन धान्छन। सिमान्तकृत समुदायको बाहुल्यता छ। स्वास्थ्य उपचारको सुविधा बहुसंख्यक जनताको पहुँच बाहिर छ। लाखौंलाख बालबालिका कुपोषणको चपेटा भित्र छन्। शिक्षा धेरैको पहुँच भन्दा बाहिर छ। दैनिक ज्यालादारी श्रम नबेची दुई छाक खाना नपाउने नागरिकको सङ्ख्या ठूलो छ। युवाशक्तिलाई रोजगारीका निमित्त विदेशिन बाध्य पारिन्छ। त्यहाँ सत्ता परिवर्तनका लागि ५६ वर्षमा ४ पटक ठूला ठूला क्रान्ति हुन्छन्, वि. सं २००७, २०१७, २०४६, २०६३। त्यहाँ अस्थिर सरकार देखा पर्दछन् २००७ देखि २०१७ सालसम्म मोहन शमशेर जबरा, मातृकाप्रसाद कोइराला, टङ्कप्रसाद आचार्य, डा के.आई.सिंह , विश्वेश्वर प्रसाद कोइराला, राजाको प्रत्यक्ष शासन गरी १० वर्षमा १८ पल्ट सरकार परिवर्तन भइरहे। २०४७ देखिको २०६३ सालसम्मको १५ बर्षे बहुदलीय कालमा १५ पल्ट, २०६३ सालपछिको १७ बर्षे गणतन्त्रकालमा १४ पल्ट सरकार परिवर्तन भइरहयो । प्रजातन्त्रको पुर्नबहाली पछिको अवस्थामा पनि ३० वर्षमा २८ सरकार बन्ने र ढल्ने खेल चलिरह्यो भने त्यस्तो देशमा स्वामित्व र अपनत्व भएको स्थायी र स्थिर सरकार नभएको अवस्थामा भ्रष्टाचार र कमिसन्तन्त्र मौलाउँछ। विकास र समृद्धिको सट्टा अराजकता र कुशासन मौलाउँछ। समाजवाद कार्यान्वयन हुने अवस्था बन्द हुन्छ। नेपालको यही हविगत कायमै छ।

(३) सत्तालोलुपता:

जे गरेर भएपनि सत्ता हासिल गर्ने, जस्तासुकै वाह्य र आन्तरिक साँठगाँठ, सहयोग, गठबन्धन, मिलेमतोद्वारा

प्राप्त सत्तालाई निरन्तरता दिइराख्न खोज्ने सत्ता लोलुप प्रवृत्ति इतिहासका सबै कालखण्डमा नेपाल र नेपालीले बेहोर्नुपरेको छ। जसरी हड्डीको टुक्रामा कुकुरहरू आपसमा लुछालुछ गर्छन, ठीक त्यसैगरी हाम्रा नेताहरु सत्ता र पदका लागि आन्तरिक र अन्तर पार्टी लुछाचुँडी र गुटबाजीको सनातनी परम्परा देखाउँछन्। राजनीतिक अगुवाहरूमा केही पाउने आशामा मालिकहरुको सलामी र गुलामी गर्ने प्रवृत्ति रहेसम्म न त देशको स्वाभिमान, स्वतन्त्रता र मर्यादा उच्च रहन्छ न त वास्तविक समाजवाद। दाताको आशीर्वाद र सहानुभूति पछि उसैको ऋणीको रूपमा नीति, नियम, विद्वान र योजना तर्जुमा जाहेर हुने गर्छ र समाजवाद हराउँछ।

हामी प्रायजसो कुरा समाजवादको गर्छौ तर व्यवहार शिक्षा, स्वास्थ्य, रोजगार, उर्जाको व्यापारमा लागिरहेका हुन्छौं। कुरा भूमिसुधारको गर्छौ तर व्यवहार र काम जग्गा दलालीको, गफमा सच्चा राष्ट्रवाद तर व्यवहारमा विदेशी पाउमा साष्टाङ्ग दण्डवत, कुरा सर्वहारावाद तर सपना नव बुर्जुवावाद, कुरा सदाचारको तर निर्वाचनमा अथाहा खर्च, डन, गन र मतदाता खरिदमा हुन्छन्। कुरा सुशासनको तर व्यवहारमा ट्रेड युनियनमार्फत प्राकृतिक स्रोतसाधन एवं राजस्वको दोहन, कुरा योग्यताको तर व्यवहारमा भागबण्डाको नियुक्तिमा असक्षहरुको भीड, कुरा साम्राज्यवादको विरोध तर व्यवहारमा साम्राज्यवादीहरुकै

पैसामा NGO र INGO । यसरी सम्पूर्ण राष्ट्रिय जीवनमै कथनी र करणीमा अन्तरविरोध । यस्तो वयवहारले न विकास सम्भव छ, न त समृद्धि र समाजवाद।

समाजवादको अर्को तगारो भनेको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत सरकारका सबै अङ्गमा व्याप्त खतरनाक रोग छिटो धनी बन्ने चाहना हो। राजनीतिक क्षेत्रमा व्यापक फैलिएको यो रोग कर्मचारीहरुमा झन् धेरै छ। यसबाट सबभन्दा पहिले राष्ट्र हाँक्ने राजनीतिक क्षेत्र मुक्त हुनुपर्छ, अनि मात्र अन्य क्षेत्रमा सुधार आउँछ । घुसखोरी, बिचौलियाहरुको पहुँच, सिन्डिकेट वा यधाधिकारवादीहरुको विगविगी, सिन्डिकेटवादी कार्टैलिङ र विश्व व्यवस्था, तस्करका फरक फरक स्वरूपको व्यापकता, माफियातत्वको एकलौटी पन जस्ता अनेक घटक फरकफरक रूप भएपनि भ्रष्टाचारीतन्त्र समग्रमा विकास, समृद्धि र समाजवादका तगारा हुन। यस्ता तगराबाट सिर्जित प्रगति विरोधी परिस्थितिसित प्रतिस्पर्धा गर्ने होइन तिनीहरूको निर्मूलन गर्नु पर्दछ। यसो गर्न नसक्दा समाजवादतिरको बाटै बन्द छ।

नेपालको संविधानको प्रस्तावनामा निम्नानुसार उल्लेख गरिएको छ

” हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता;

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै;

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक– पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;

सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै;

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै;

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न;

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ।”

लोकतन्त्र एवं सुशासनलाई बलियो पार्ने माध्यम भनेको सचेत, जागरुक र देशभक्त नागरिक हुन्। असल र जागरुक नागरिक भनेको लोकतन्त्र एवं सुशासनका पहरेदार हुन। पहरेदार बिना लोकतन्त्र र सुशासन फस्टाउँदैन। असल पहरेदार नै लोकतन्त्र र समृद्धिको मूल्य हुने हुँदा त्यस्तो अवस्थामा मात्र समाजवाद लागू गर्न सकिन्छ। वास्तवमा यो नयाँ बाचाहरू गर्ने बेला होइन ,नयाँ सपना देखाउने बेला होइन , संविधानमा लिखित रुपमा गरिएका बाचाहरू र देखाइएका सपनाहरू पूरा गर्ने बेला हो । विधिको शासनमार्फत् नेपालको संविधानले परिकल्पना गरे अनुसारको समाज स्थापना गर्नु “संवैधानिक समाजवाद”हो ।

लेखक पौडेल अक्सफोर्ड कलेज गैँडाकोटका प्राध्यापक हुनुहुन्छ  ।

 

तपाईको प्रतिक्रिया