×

चितवन- भरतपुर महानगरपालिका–२५ मा १६० भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

भरतपुरमा आयोजित एक कार्यक्रममा उनीहरू सामूहिक रूपमा नेकपा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहालले फुलमाला र अबिर लगाएर स्वागत गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति तथा नागरिक एकताबद्ध हुनुपर्ने बताइन्। उनले भरतपुरमा लागू गरिएको विकास मोडललाई अब समग्र चितवनभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “भरतपुरको विकास अनुभवलाई चितवनका सबै क्षेत्रमा विस्तार गर्ने हाम्रो लक्ष्य हो,” उनले भनिन्, “जनताको विश्वास र साथले मात्र समृद्ध चितवन निर्माण सम्भव छ।”

नवप्रवेशी कार्यकर्ताहरूले ‘रेनु जिताउ अभियान’ मा सक्रिय रूपमा समाहित भई भरतपुरको विकास अनुभवलाई जिल्लाभर विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले स्थानीयस्तरमा देखिएको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सहरी व्यवस्थापन क्षेत्रमा भएको सुधारलाई निरन्तरता दिन नेकपा रोजेको बताएका छन्।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया