चितवन । नेपाली सेना अन्तर्गत श्री नयाँ सबुज गणको आयोजनामा इच्छाकामना गाउँपालिकाको समन्वय तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुर (पुरानो मेडिकल कलेज)को प्राविधिक सहयोगमा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
पौष ५ गते शनिबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका–०७, गर्दासस्थित राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिने जनाइएको छ।
शिविरमा जनरल फिजिसियन, छाला, यौन तथा कुष्ठ रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, मधुमेह, नेत्र, दन्त तथा बाल रोगलगायतका विशेषज्ञ सेवाहरू निःशुल्क उपलब्ध गराइनेछन्। साथै भिडियो एक्स–रे (USG) सहितको रेडियोलोजी सेवा, इ.सि.जि. (ECG), मधुमेह तथा रक्तचाप परीक्षण र आवश्यक औषधि वितरणसमेत गरिने आयोजकले जनाएको छ।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुरका बजार विभाग प्रमुख दुर्गा न्यौपानेका अनुसार दुर्गम तथा स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको हो।
उहाँले भन्नुभयो, “स्थानीय नागरिकले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श पाउने अवसर सिर्जना गर्न यो शिविर आयोजना गरिएको हो। आवश्यक परेमा थप उपचारका लागि अस्पतालमा रेफर गर्ने व्यवस्था पनि गरिएको छ।”
आयोजकले सबै स्थानीय बासिन्दालाई तोकिएको मिति र स्थानमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाबाट लाभ लिन अनुरोध गरेका छन्।



उज्यालो खबर




