चितवन- चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सहितको संयुक्त टोलीले आज नारायणी नदी तटीय क्षेत्रमा फिल्ड अवलोकन गरेको छ।
अवलोकन टोलीमा आयोजना प्रमुख डा. नारायण प्रसाद सुवेदी, आयोजनाका अन्य प्राविधिक टिमका सदस्यहरू तथा चितवन राष्ट्रिय निकुञ्जका अधिकृत र कर्मचारीहरूको सहभागिता रहेको थियो। टोलीले मझुवा, हिरापुर, सिसुवार हुँदै निहुरेचोक सम्मको नदी तटीय क्षेत्रमा LB–29 सेगमेन्टअन्तर्गतको संयुक्त फिल्ड भ्रमण सम्पन्न गरेको हो।
भ्रमणको उद्देश्य नारायणी नदी नियन्त्रण संरचनालाई जङ्गली जनावरको प्राकृतिक इको–सिस्टम (Eco-system) लाई असर नपार्ने गरी कसरी मजबुत र प्रभावकारी बनाउन सकिन्छ भन्ने अध्ययन गर्नु रहेको थियो।
भ्रमणका क्रममा टोलीले निकुञ्ज क्षेत्रभित्रका बासस्थान, नदी किनारको संरचना, जनावर आवागमन मार्ग तथा वातावरणीय सन्तुलन कायम राख्ने उपायहरूबारे स्थलमै अध्ययन र छलफल गरेको थियो।
आयोजना प्रमुख डा. सुवेदीले मानवीय संरचना र प्राकृतिक सन्तुलनबीच सन्तुलन कायम राख्दै विकासका गतिविधि अघि बढाउनुपर्ने बताउँदै निकुञ्ज टिम र आयोजनाबीचको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संयुक्त फिल्ड भ्रमणले नदी नियन्त्रण कार्य र वन्यजन्तु संरक्षणबीचको आपसी सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।



उज्यालो खबर




