चितवन- तीजको सांस्कृतिक पर्वलाई उद्यमशिलता र आत्मनिर्भरताको सन्देशसँग जोड्दै चितवनमा ‘तेश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८२’ को आयोजना गरिने भएको छ। चितवन उद्योग संघ, महिला उद्यमी मञ्चले चितवन उद्योग संघको संरक्षकत्वमा साउन ३०, ३१ र भाद्र १ गते भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा मेलाको आयोजना गर्न लागेको हो।
आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले मेला आयोजना हुने जानकारी दिएको हो। मेलामा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न उत्पादन र सेवाहरूको प्रदर्शनी तथा बिक्री वितरण हुने जनाइएको छ।
उद्यमशील महिलाहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदान–प्रदान गर्ने, उत्पादनको प्रवर्द्धन गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
मेलामा ३५ भन्दा बढी स्टलहरू रहनेछन्, जसमा हस्तकलाका सामग्री, तीज विशेष उत्पादनहरू, लत्ताकपडा, जुत्ता–चप्पल, बुटिकका उत्पादनहरू, गिफ्ट आइटम, गरगहना, सौन्दर्य सामग्री र सेवाहरू, खाद्य परिकार, मेहन्दी स्टल, बैंक तथा बीमा कम्पनी, कृषिजन्य उत्पादन र नवप्रवर्तन स्टलहरू समावेश हुनेछन्।

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका अध्यक्ष सृजना सोतीका अनुसार, एक्स्पोले लघु, घरेलु तथा साना महिला उद्यमीहरूको ब्रान्ड र कम्पनीको छवि निर्माण गर्दै बजार विस्तारको अवसर प्रदान गर्नेछ। साथै स्वरोजगार र सीप विकासका सम्भावनाहरू पहिचान गर्दै दिगो उद्यमशिलताको बाटोमा महिला उद्यमीहरूलाई प्रेरित गर्ने उद्देश्य पनि मेलाले बोकेको छ।
महिला उद्यमीहरूबीच नेटवर्क विस्तार गर्ने, लगानीका सम्भावनाहरू खोज्ने र अनुभव आदान–प्रदानमार्फत उनीहरूलाई थप सशक्त बनाउने लक्ष्य लिइएको आयोजकको भनाइ छ।
तीजका अवसरमा हुने “दर खाने” नाममा देखिने विकृतिहरूको न्यूनीकरण गर्दै पर्वलाई सकारात्मक र सिर्जनशील ढंगले मनाउने, साथै त्यसलाई आर्थिक क्रियाकलापसँग जोडेर महिलालाई आत्मनिर्भर बनाउने अभियानमा यो मेला सहयोगी हुने विश्वास आयोजकले व्यक्त गरे।
मेलाले “स्वदेशमै केही गर्छु” भन्ने संकल्पका साथ लागिपरेका महिलाहरूलाई मानसिक र व्यावसायिक रूपमा थप सशक्त बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।




उज्यालो खबर




