न्युयोर्क- संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको कोर्निङस्थित रोटरी क्लब अफ कोर्निङको नियमित बैठकमा रोटरी क्लब अफ चितवन, नेपालसँगको सहकार्य, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। सन् १९२१ मा स्थापना भएको उक्त क्लबको अध्यक्षता क्लबकी अध्यक्ष जेन बाटजिङले गर्नुभएको थियो। बैठकमा सिरिस पन्त, प्रीयका घिमिरे र मोहन घिमिरे विशेष अतिथि रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमको प्रारम्भमा रोटरी क्लब अफ चितवनका अध्यक्ष रामचन्द्र अधिकारीद्वारा पठाइएको शुभकामना सन्देश, सहकार्यको प्रस्ताव तथा नेपाल भ्रमणको निमन्त्रणा पत्र प्रीयका घिमिरेले वाचन गरी कोर्निङ क्लबकी अध्यक्षलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा दुबै क्लबहरूले गरेका सामाजिक सेवा कार्यहरूबारे जानकारी आदानप्रदान गरिएको थियो। यस क्रममा सिरिस पन्तले नेपाली संस्कृति अनुसार क्लब अध्यक्षलाई नेपाली ढाका टोपी पहिराइदिई सम्मान गर्नुका साथै शान्तिको प्रतीक गौतम बुद्धको मूर्ति उपहारस्वरूप हस्तान्तरण गर्नुभयो। साथै गौतम बुद्ध नेपालमा जन्मनु भएको, उहाँ शान्तिका प्रवर्दक हुनुहुने तथा एशियाली महादेशको गौरव ‘एशियाको तारा’का रूपमा चिनिनुहुने ऐतिहासिक सन्देश समेत प्रस्तुत गरियो।

सो अवसरमा चितवन जिल्लाको पर्यटकीय सम्भावनाबारे जानकारी दिइँदै, चितवन भ्रमणका लागि औपचारिक निमन्त्रणा समेत गरियो। चितवन राष्ट्रिय निकुञ्ज, थारू संस्कृति, सौराहा, जन्तीपाटी महोत्सव जस्ता आकर्षणहरूबारे जानकारी दिइएको थियो, जसले नेपालको विशेषगरी चितवन जिल्लाको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।
बैठकको अन्त्यमा सहभागी प्रीयका घिमिरेले प्राप्त गर्नुभएको ३० अमेरिकी डलर बराबरको उपहार रकम सामाजिक कार्यमा प्रयोग होस् भन्ने उद्देश्यले क्लबलाई नै सहयोगस्वरूप हस्तान्तरण गर्नुभयो।यस प्रकारको अन्तर्राष्ट्रिय सद्भाव तथा सहकार्यका कार्यक्रमहरूले दुई देशका रोटरी क्लबहरूबीच मित्रता, समझदारी र सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

उज्यालो खबर