×

चितवन — आज आषाढ शुक्ल एकादशी, सनातन धर्ममा अत्यन्त महत्वपूर्ण मानिने हरिशयनी एकादशीका अवसरमा देशभरका घरघरमा तुलसीको बिरुवा सारिँदै विशेष पूजा आराधना थालिएको छ।

ज्येष्ठ शुक्ल एकादशीमा तयार पारिएको तुलसीको बिरुवा आज घरको तुलसी मोठमा सारिन्छ। चार महिनासम्म विधिपूर्वक तुलसीको पूजा गर्ने चलनका साथ आजबाट चतुर्मास व्रतको सुरुवात हुने धार्मिक परम्परा छ।

धर्मशास्त्र अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीर सागरमा शयन गर्नुहुन्छ, त्यसैले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। चतुर्मासका चार महिनामा आठ एकादशी पर्ने भए पनि, सबै समय फलाहार गर्न नसक्ने भक्तजन आजको दिन र कार्तिक महिनाको हरिबोधिनी एकादशीमा व्रत बस्ने गर्छन्।

आजको दिन विशेष गरी राजधानीको बुढानीलकण्ठ, चार नारायण, र देशभरका विष्णु मन्दिरमा श्रद्धालुको भीड देखिएको छ। भक्तजनहरूले चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो वा फलाहार गर्ने परम्परा पालन गर्छन्।

तुलसीलाई धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिकोणले पनि अति उपयोगी मानिन्छ। तुलसी भएका स्थानमा स्वच्छ अक्सिजन पाइने, रोग सार्ने कीटाणु नआउने, र सकारात्मक ऊर्जा प्रवाह हुने वैज्ञानिक प्रमाणहरू छन्।

चतुर्मासभर गरिएको पूजा आराधनापछि तुलसीको विवाह कार्तिक शुक्ल एकादशीमा भगवान् दामोदरसँग गरिन्छ, जुन वैदिक परम्पराको एक विशेष धार्मिक विधि हो।

तपाईको प्रतिक्रिया