×

चितवन । चितवन उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा युवा व्यवसायी सिरीस पन्त यतिखेर संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन्। भ्रमणका क्रममा उनले चितवन र नेपालको पर्यटन, व्यापार, शिक्षा तथा सांस्कृतिक सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यसहित एकपछि अर्को उल्लेखनीय कूटनीतिक भेटघाट तथा सहकार्यको पहल गरिरहेका छन्।

पन्तको भ्रमणमा उनकी धर्मपत्नी श्रीमती प्रियंका घिमिरे पन्त समेत साथ रहेकी छन्। दम्पतीले संयुक्त रूपमा अमेरिका भ्रमणलाई चितवनको परिचय विस्तारको अवसरका रूपमा उपयोग गर्दै बहुपक्षीय संवाद र सहकार्यको ढोका खोलिरहेका छन्।

हालै उनीहरू न्यूयोर्क राज्यको कोर्निङ सहर पुगेका थिए, जहाँ सिरीस पन्तले कोर्निङ सिटीका मेयर विलियम ‘बिल’ बोल्यान्डसँग उच्चस्तरीय भेटघाट गरेका छन्। भेटमा भरतपुर महानगरपालिका र कोर्निङ सहरबीच प्रतिनिधिमण्डल आदानप्रदान तथा ‘भगिनी सम्बन्ध’ स्थापना गर्ने प्रस्ताव राखिएको थियो। यसले दीर्घकालीन सांस्कृतिक, शैक्षिक र व्यापारिक सहकार्यको सम्भावनालाई टेवा पुर्‍याउने विश्वास गरिएको छ।

भेटका क्रममा पन्तले भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा पठाइएको शुभकामना सन्देश हस्तान्तरण गरे भने चितवन उद्योग वाणिज्य संघले प्रकाशित “चितवन पर्यटन पुस्तिका” मेयरलाई प्रदान गरे। त्यस अवसरमा धर्मपत्नी प्रियंका पन्त पनि उपस्थित थिइन्। दम्पतीले संयुक्त रूपमा नेपाली संस्कृतिको प्रतीक ढाका टोपी लगाएर मेयर बोल्यान्डलाई विशेष सम्मान व्यक्त गरे।

मेयर बोल्यान्डले कोर्निङ सहरको लोगो अङ्कित चिनारी सामग्री प्रदान गर्दै भरतपुरसँग सम्बन्ध प्रगाढ बनाउन आफू उत्साहित रहेको जानकारी दिए। उनका अनुसार, कोर्निङ सहरले यसअघि जापान, इटली र युक्रेनका सहरहरूसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ र अब चौथो शहरको रूपमा भरतपुरसँग औपचारिक सम्बन्ध स्थापान गर्ने चाहना राखेको बताए।

यसअघि पन्तले न्यूयोर्कमा स्थापना कालदेखि सक्रिय दुई ऐतिहासिक वाणिज्य संघका अध्यक्षहरूसँग पनि भेटघाट गरी सस्थागत सहकार्यको सम्भावनाबारे छलफल गरिसकेका छन्। साथै, उनले अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ सेरे (Athens Rotary Club) सँग चितवनको रोटरी क्लबबीच सहकार्य विस्तार गर्न समेत पहल गरेका छन्।

उनीहरूको भ्रमणमा अमेरिका निवासी पन्तका नातेदार तथा पाचन र कलेजो रोग विशेषज्ञ डा. सुभाष घिमिरेले कार्यक्रम समन्वय तथा सञ्जाल विस्तारमा विशेष सहयोग पुर्‍याएका छन्।

सिरीस पन्त र प्रियंका घिमिरे पन्तको संयुक्त पहलले चितवनको अन्तर्राष्ट्रिय पहिचानलाई सुदृढ बनाउनुका साथै भरतपुर महानगर र कोर्निङ सहरबीचको सम्बन्धको नयाँ सम्भावनाको ढोका खोलेको छ। यो भ्रमण नेपाली व्यवसाय, संस्कृति र कूटनीतिक पहलको उदाहरणीय मिसालका रूपमा चिनिएको छ।

तपाईको प्रतिक्रिया