×

काठमाण्डौ- नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा चितवनस्थित लिटिल फ्लावर स्कुल चितवनले उत्साहजनक सहभागिता जनाएको छ।विद्यालयबाट स्काउटमा आवद्ध ३० जना छात्रछात्रा स्काउटर दुर्गा सापकोटा र शिक्षक राकेश पटेलको नेतृत्वमा लैनचौरस्थित नेपाल स्काउटको केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरू स्काउटर दुर्गा सापकोटाको नेतृत्वमा कार्यक्रमस्थल लैनचौरस्थित नेपाल स्काउटको केन्द्रीय कार्यालय पुगेका थिए।

स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा विद्यालयका स्काउटका विद्यार्थीहरूले आकर्षक ब्याण्ड प्रस्तुति दिएका थिए। उनीहरूले र्यालीमा अग्रपंक्तिमा रहेर सहभागिता जनाएका थिए, जसले विद्यालयको अनुशासित र सक्रिय पहिचान झल्काएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादव र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले समेत विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्नुभएको थियो।

नेपाल स्काउट एक राष्ट्रिय स्वयंसेवी संस्था हो, जसले बालबालिका र युवाहरुलाई सेवा, अनुशासन, नेतृत्व र नागरिक जिम्मेवारी सिकाउने उद्देश्य राखेको छ। यस संस्था मार्फत विद्यार्थीहरूमा आत्मनिर्भरता, समाजप्रतिको उत्तरदायित्व र राष्ट्रप्रतिको समर्पणको भावना विकास गरिने गर्छ। लिटिल फ्लावर स्कुलका विद्यार्थीहरूको सक्रिय सहभागिताले स्काउट मूल्य र आदर्शप्रतिको प्रतिबद्धता स्पष्ट पार्दछ।

तपाईको प्रतिक्रिया