
चितवन –खैरहनी नगरपालिकाले कृषि यान्त्रीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले चारवटा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गरेको छ।नगरपालिकाको चालु आर्थिक वर्षको “एक वडा, एक कृषि सहकारी” कार्यक्रम अन्तर्गत कृषि सहकारीहरुलाई ट्र्याक्टर, रोटाभेटर र कल्टिभेटर वितरण गरिएको हो।
नगर प्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, आर्थिक समितिका संयोजक छत्रनाथ सुवेदी, सुशासन समितिका संयोजक कुलप्रसाद भुषाललगायतले सहकारी प्रतिनिधिहरूलाई उपकरण हस्तान्तरण गरेका हुन्।
नगरपालिकाको कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार कुल ६ वटा सहकारीले निवेदन दिएकोमा छनोट भएका चार सहकारीलाई उपकरण हस्तान्तरण गरिएको हो।यस अनुदान कार्यक्रमबाट किसानहरुलाई लागत घटाउने, आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्ने र उत्पादनमा वृद्धि ल्याउने लक्ष्य लिइएको श्रेष्ठले बताइन्।