
गैँडाकोट । अखिल नेपाल महिला संघ वडा कमिटी भरतपुर–१२को आयोजनामा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १२ मा अवस्थित मोहन माध्यमिक विद्यालयको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा धुपी, म्यांगोट्री, कपुर लगायतका विभिन्न जातका बिरुवा विद्यालय परिसरमा रोपिएको थियो ।
अखिल नेपाल महिला संघ वडा कमिटी भरतपुर–१२ का अध्यक्ष गायत्री श्रेष्ठको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा नेकपा एमाले वडा कमिटी भरतपुर–१२ का अध्यक्ष एवं अनेमसंघ जिल्ला सदस्य शोभा पण्डित प्रमुख अतिथि र नेकपा एमाले जिल्ला सदस्य तथा वडा नं. १२ की सह–इन्चार्ज अन्जु शर्मा दाहाल विशिष्ट अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि शोभा पण्डितले वातावरण दिवस केवल एक दिनको सन्दर्भ नभई हरेक दिन प्रकृतिप्रति उत्तरदायित्व बहन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै, यस्तो अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ वडा कमिटी भरतपुर–१२ का अध्यक्ष गायत्री श्रेष्ठले भन्नुभयो “वातावरण संरक्षण सबैको साझा जिम्मेवारी हो । महिलाको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । ” विद्यालयका प्रधानाध्यापक पशुपति घिमिरेले बृक्षारोपणले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै बालबालिकालाई प्रकृतिप्रति उत्तरदायी बनाउने अवसर दिएको बताउनुभयो ।