×

 रेशम सापकोटा,माडी

चितवन — चितवन राष्ट्रिय निकुञ्जले तीनैतिरबाट घेरेको र दक्षिणतर्फ भारतको सीमासँग जोडिएको माडी उपत्यका केवल भौगोलिक दृष्टिले मात्रै होइन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र कृषि सम्भावनाको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।

धार्मिक आस्थाले भरिएको माडीमा थुप्रै पुण्यस्थलहरू छन्। अयोध्याधाम, वैकुण्ठधाम वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोधकधाम, छरछरे शिव मन्दिर, सोमेश्वरगढी, दक्षिण सोमेश्वर कालिका शनिधाम, चक्र तीर्थधाम, रेवा त्रिवेणीधाम, विक्रम बाबा मन्दिरलगायतका स्थलहरूले माडीलाई तीर्थाटनको गन्तव्य बनाइदिएका छन्। यी धार्मिक थलोहरूले स्थानीय सामाजिक एकता र सांस्कृतिक चेतनालाई बलियो बनाउँदै आएका छन्।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस उपत्यकामा रेड हिल पार्क र पुष्प मदन बोटीकाजस्ता भ्युटावरयुक्त पर्यटकीय गन्तव्यहरूले आगन्तुकलाई मोहनी लगाउने दृश्यावलोकन गराउने अवसर दिन्छन्। ती ठाउँबाट एकैसाथ खोलाहरू, गाउँबस्ती र वन्य क्षेत्रहरू नियाल्न सकिन्छ।

कृषिको हिसाबले माडीको जमिन निकै उर्वर छ। यहाँ परम्परागत खेतीसँगै आधुनिक प्रविधियुक्त कृषि प्रणाली, जडीबुटी खेती, मह उत्पादन, अचार निर्माण र माछापालनजस्ता कृषि व्यवसायहरू विस्तार भइरहेका छन्। महिला तथा युवालाई लक्षित स्वरोजगारमूलक तालिमहरूले गाउँमै रोजगारी सिर्जना हुन थालेको छ।

सेवा क्षेत्रमा पनि माडी पछाडि छैन। सामुदायिक होमस्टे, होटल, खाजाघर, पार्टी प्यालेस र पर्यटक स्वागत केन्द्रहरू सञ्चालनमा छन्। दैनिक सयौँको संख्यामा यहाँ दर्शनार्थी, पर्यटक तथा शोधकर्ताहरूको आवागमन भइरहेको छ। स्थानीय खानपान र संस्कृतिले पाहुनालाई आत्मीयता दिने वातावरण बनाएको छ।

यहाँको अर्को विशेषता दक्षिणबाट उत्तरतर्फ बग्ने खोलाहरू हुन्, जसमा निर्माण गरिएका पुलहरूले गाउँहरू मात्र नभई सामाजिक र आर्थिक गतिशीलतालाई समेत जोड्ने काम गरेका छन्।

असीम सम्भावनासहितको उपत्यका

धार्मिक पर्यटन, कृषिआधारित उद्योग, होमस्टे सेवा र स्थानीय उत्पादन प्रवर्द्धनमार्फत माडीलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा स्थापित गर्ने सम्भावना निकै उज्यालो देखिन्छ।

तर, यसको लागि स्थानीय, प्रदेश र संघ सरकारबीचको समन्वय, दीर्घकालीन रणनीति र सबै राजनीतिक दलहरूको साझा प्रयास अपरिहार्य देखिन्छ। मझौला उद्योगको स्थापना, स्थानिय उत्पादनको बजारीकरण, स्वरोजगार सृजनाजस्ता कार्यक्रममा जोड दिइनुपर्ने आवश्यकता बढ्दै गएको छ।

माडीको शान्त वातावरण, धार्मिक ऊर्जा, हरित क्षेत्र, सरल जीवनशैली र उर्वर माटोले आज पनि आगन्तुकलाई बोलाइरहेका छन्। यहाँको समुचित संरक्षण, व्यवस्थापन र प्रवर्द्धन गर्न सकिएमा माडीको नाम विश्वमञ्चमा चम्किनबाट रोक्न सकिने छैन।

“माडी प्रकृतिको काखमा लुकेको स्वर्ग हो। यसको सौन्दर्य अनुभूति गर्न, आउनुहोस्—शीर निहुराएर तीर्थ स्थलगमन गरौँ, हरियाली स्पर्श गरौँ र आत्मिक शान्ति अनुभूत गरौँ ”।

 

तपाईको प्रतिक्रिया