चितवन- स्वीजरल्याण्डका प्रख्यात हास्य कलाकार तथा जादुगर पीटर लोहमानलाई चितवनको नवोदय विद्यालयले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । खैरहनी नगरपालिका वडा नं. १ मा रहेको चेपाङ बालबालिकाहरु अध्ययनरत सो विद्यालयले कलाकार पिटरलाई विद्यालयमा भव्य स्वागत गरेको हो । विद्यालयका डाइरेक्टर फादर मिकेल र नेपाल लिटल फ्लावर सोसाइटीका फादर रोवीले संयुक्त रुपमा पिटरलाई विद्यालयमा स्वागत गर्नुभएको विद्यालयले जनाएको छ ।
नेपाल लिटिल फ्लावर सोसाइटीले निशुल्क रुपमा सञ्चालन गरेको सो विद्यालयमा रहेका विद्यार्थीहरुका लागि कलाकार तथा जादुगर पिटरले बार्षिक करिव ५५ लाख रुपैया सहयोग गर्दै आएको विद्यालयका निर्देशक मिकेलले बताउनुभयो । चेपाङ बालबालिकाहरुको शैक्षिक विकासको लागि कलाकार पिटरले युरोपियन देशहरु र क्रुज जहाजहरुमा दर्जनौ कार्यक्रमहरु गर्दै आएका छन् । पिटरले आफ्नो आम्दानीको ठुलो हिस्सा चेपाङ बालबालिकाहरुको लागि खर्च गर्दै आएका छन् ।
विगत दशवर्षदेखि नेपालका विभिन्न भूभागमा रहेका आर्थिक रुपमा कमजोर र विपन्न समूदायलाई सहयोग गर्दै आएका पिटरले आगामी दिनमा समेत आफुले सहयोगलाई निरन्तरता दिने बताए । चेपाङ बालबालिकाहरुको पछिल्लो अवस्था बुझ्न र उनिहरुलाई अध्ययनमा प्रोत्साहन गर्नको लागि नेपाल आएको भन्दै पिटरले सो अवसरुमा खुसी व्यक्त गरे । कक्षा ३ देखि १० सम्म पठनपाठन सञ्चालन हुँदै आएको नवोदय विद्यालयमा चितवन, मककानपुर, धादिङ र गोरखा जिल्लाका ३०७ जना बालबालिकाहरु आवासीय सुविधा सहित निशुल्क रुपमा अध्ययन गर्दै आएका छन् ।



उज्यालो खबर




