×

गैँडाकोट – युवा उपन्यासकार कवि एवं गीतकार हरि बस्ताकोटीद्वारा रचित गीत “सुन्कै थाली” युट्यूब च्यानलमार्फत औपचारिक सार्वजनिक भएको छ । बस्ताकोटीको मर्मस्पर्शी शब्द तथा चण्डीप्रसाद काफ्लेको मौलिक संगीतमा अहिलेका चर्चीत गायक राज सिग्देलको रहस्यमयी आवाजमा गीतलाई सजाइएको छ । गुरु चण्डीप्रसाद काफ्लेको श्री संगीत पाठशालाले “सुन्कै थाली” भर्खरै सार्वजनिक गरेको हो ।

“सुनकै थाली” जीवनको फरक लय र संगीतको फरक सुगन्ध बोकेको गीत हो । जीवनको कटुलय, बिधाताको निर्मम खटन, व्यक्ति केन्द्रीत समाज, प्रकृतीको बिचित्र रुप, मान्छेहरूका बिकाउ जीवन शैली, स्पर्शबिनाको कित्रीम प्रेम सबै भोगेर आजका मानिस दुःखी छन् । मानौँः मान्छे दुःखको पर्याय हो । आजभोलि यस्तो लाग्छ यस दुनियाँमा बाँच्नलाई अब रुन पनि सिक्नुपर्ने भएको छ ।

गीतकारको वन्दना छ धरतीमा सुनको नयाँ बिहानी आओस् कोइलीले हाम्रै खुशीको गीत गाओस् । महाभूकम्पको पीडामा बुनिएको उक्त गीत कोरोनाको विश्व त्रासदी झेल्दै हाल बर्षादको बाढी पहिरो अनि डुवानको बीचबाट सार्वजनिक गरिएको गुरु चण्डीप्रसाद काफ्लेले जानकारी दिए । युवा उपन्यासकार कवि एवं गीतकार बस्ताकोटीको “सुनकै थाली” उनका कालजयी सदावहार गीतहरूको सँग्रह “तस्बिर” एल्बममा समावेश छ ।

सुगम सँगीतको मूलधारमा निरन्तर कलम चलाईरहेका गीतकार बस्ताकोटी उच्च कोटीका स्तरीय गीत लेख्ने गीतकार मानिन्छन् । उनका “तिमीलाई पाउँन मन्दिर धाएँ” “आँखामा कुनै सपना छैन” “थोत्रो चोली” “अमृत भनी विष पिलायौ” “वर्दी टोपी” “औंठी मागी सिक्री मागी” “सुनकै थाली” सँगै एक दर्जन गीतका भिडियो सार्वजनिक भइसकेका छन् । त्यसो त उनी नेपालका एक प्रखर कवि एवं उपन्यासकारको परिचयले पनि चिनिन्छन् । नवलपुरको पर्वतीय गाउँ बुलिङटारले जन्माएको यि राष्ट्रिय प्रतिभाले बिगत २५ वर्षदेखि निरन्तर कलम चलाएर सुगम संगीत अनि नेपाली भाषा र समकालीन साहित्यलाई आफ्ना शक्तिशाली स्पर्शी शब्दमार्फत उर्वर बनाएका छन् ।

तपाईको प्रतिक्रिया