×

चितवन- नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । भरतपुर–४ लंकुस्थित होटल ग्यालेक्सीमा हुने अधिवेशनको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जेठ १४ गतेसम्म चल्ने अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति, सचिव प्रकाश खनाल ‘शैलेस’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन समिति बनाइएको छ ।

त्यस्तै, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति र भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको पार्टीले जनाएको छ ।

हरेक तीन वर्षमा हुनुपर्ने अधिवेशन यसपटक दुई वर्ष चार महिनामै हुन लागेको हो । अधिवेशनका लागि जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायतबाट गरी ७३२ जना र मनोनित २९ गरी जम्मा ७६१ जना प्रतिनिधि चयन भएका छन् । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित १२० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने छ । जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको अध्यक्ष न्यौपानेले बताए ।

नेकपा एमाले चितवनको नेतृत्व हत्याउनका लागि हालका अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमलराज पाठक विच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि नेताहरु कृष्ण भुर्तेल र तेजेन्द्र खड्को समेत नाम सार्वजनिक भएपनि खास प्रतिष्पर्धा पाठक र न्यौपाने विच हुने पक्कापक्की जस्तै छ ।

पुरा कार्यकाल आफुले अध्यक्षको रुपमा काम गर्न नपाएकोले एक पटक फेरि नेतृत्व गर्न पाउनुपर्ने तर्क हालका अध्यक्ष न्यौपानेले सारेका छन् भने विगतमा भएको भद्र सहमति अनुसार आफु स्वतः अध्यक्षको प्रमुख दावेदार भएको पाठकको तर्क छ ।

तपाईको प्रतिक्रिया