×

 

खैरहनी नगरपालिकाले नागरिकको स्वाथ्य सुविधा विस्तारको लागि बहुसंख्यक नागरिकको पहुँचमा पुग्ने गरी विभिन्न स्थानमा खुला व्यायामशाला स्थापना गरेको छ ।

खैरहनी नगरपालिकाको वडा नं १० कठार बजार, वडा नं ११ को समी चोक, वडा नं ६ मा निर्माणाधिन बालउद्धान पार्क अगाडि, वडा नं ८ को धार्मिक उत्थान भवन छेउ, वडा नं २ को विन्दवासिनी मन्दिरको आडमा र वडा नं १३ को पुष्पलाल पार्कमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ ।

नागरिक सचेतनामा अभिवृद्धि भएसंगै बिहान साँझ हिँडडुल गर्ने र व्यायाम गर्ने नागरिक बढेको हुँदा नागरिकको जीवनशैली सुधार ल्याई स्वस्थकर जीवन यापनमा सहयोग पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा खुल्ला व्यायामशाला स्थापना गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख खनियाले जानकारी दिएका छन् । साथै नगर प्रमुख खनियाले शहर बजारका नागरिकको खानपान र रहनसहनका कारण अनिवार्य व्यायाम गर्न आवश्यक हुने हुँदा खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम भएकोले नगरपालिकाले गत वर्षदेखि नै बजेट विनियोजन गरी यस्तो संरचना बनाइरहेको उल्लेख गरे ।

शारीरिक अभ्यास, योग तथा खानपानमा शहर बजारका नागरिक सचेत रहन आवश्यक रहेको बताउँदै शारीरिक स्फूर्तिका लागि विहान साँझ हिँडडुल गर्ने सर्वसाधारणलाई व्यायाम गर्न खुल्ला व्यायामशालाले उत्प्रेरित गर्ने अपेक्षा गरिएको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले बताईन् ।

यसै आर्थिक वर्ष भित्र वडा नं १२ र ४ मा थप व्यायामशाला स्थापना हुने र आगामी आर्थिक वर्षसम्म लभग सबै वडामा खुल्ला व्यायामशालाको व्यवस्था गर्ने र व्यायामशालाको दिगो तथा प्रभावकारी व्यवस्थापनको लागि टोल विकास संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने नगरपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया