×

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सासंद हरि ढकालले जनतालाई निराश बनाएमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाप लाग्ने बताउनुभएको छ । गैँडाकोटमा भएको वडा स्तरीय शपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको सपना सकार पार्ने गरी काम गर्ने समय आएको बताउनुभएको छ । ईतिहासमै पहिलो पटक नागरिक यति धेरै निराश भएको बताउँदै देशको बेथिति अन्त्य गर्न अब रास्वपाले काम गर्ने बताउनुभएको छ ।

गैँडाकोट नगरपालिका भित्र रहेका हरेक वडाको समस्या पहिचान र त्यसलाई समाधान गर्न पहल गर्न हरेक समिति सक्रिय भएर काम गर्न पनि ढकालले सुझाव दिनुभएको छ । विशेषगरी नगरमा रहेका सामुदायिक विद्यालयको सुधार, स्वास्थ्य चौकीको सुधार, खानेपानी लगायतका क्षेत्रमा भएका बेथिति अन्त्य गर्न समितिले काम गर्नुपर्ने उहाँको भनाई छ ।२०८४ सालमा टिकट पाउने गरी नभई देश सुधार गर्ने गरी काम गर्न सासंद ढकालले आग्रह गर्नुभयो ।

शनिवार गैँडाकोट ३ र १८ नम्बर वडा बाहेक अन्य वडामा गठन भएका वडा समितिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति राजन गौतमले पार्टीलाई बलियो बनाउन सबै एक हुनुपर्ने बताउनुभएको छ ।उहाँले ब्यक्ति बलियो हुने भन्दा पनि पार्टी बलियो बनाउन काम गर्न आग्रह गर्नुभएको छ । यसको लागि कुरा कम र काम धेरै गर्नुपर्ने समय आएको उहाँले बताउनुभयो ।गैँडाकोट नगरपालिकाका कार्यवाहक पार्टी सभापति विमल घिमीरेले वडामा रहेका सम्पूर्ण सदस्यलाई इमान्दार भएर काम गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा रास्वपाका नवलपुर जिल्ला संयोजक नरिश्वर लामिछाने, केन्द्रीय सदस्य सविना वि।क, प्रदेश सभा सदस्य मीना शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।नगर सचिव टिकाराम लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य नगर समिति सदस्य ऋषीराम भण्डारीले राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया