काठमाडौं । भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगोबारे सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्टीकरण दिएको छ । मुर्रा राँगो उच्च प्रजनन क्षमताको हुने र नस्ल सुधारमा सहयोग हुने मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
मुर्रा राँगोबाट नेपालले वार्षिक कम्तिमा एक लाख भैंसीमा गर्भधारण गर्ने लक्ष्य लिइएको विज्ञप्तिमा उल्लेख छ ।१५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । यसले दूध उत्पादनमा उल्लेख्य सुधार हुने मन्त्रालयले जनाएको छ ।
नेपालले सन् २०१८ मै भारतलाई ३० वटा मुर्रा राँगो उपलब्ध गराउन अनुरोध गरेको थियो ।नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा उक्त अनुरोध भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको औपचारिक भ्रमणका क्रममा भारत सरकार त्यसका लागि तयार भएको हो ।
भारतको हरियाणा र पन्जाबमा उत्पत्ति भएको मानिने यो राँगो रोग क्षमता उच्च भएको र भैँसी उच्च दुध दिन सक्ने क्षमताको भएको बताइन्छ ।मुर्रा भैँसीले सामान्यतया दैनिक १० देखि १६ लिटरसम्म दुध दिने भारतको चर्चित भारथी डेरी फार्मले उल्लेख गरेको छ । उक्त फार्मका अनुसार यो भैँसीको मुल्य भारतमा ६० हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म पर्छ ।



उज्यालो खबर




