×

चितवन । वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरिएको छ । बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आज आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका हुन् ।पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको हो ।

बिबिएस, बिएड, विज्ञान संकायका केही सेमेष्टर लगायतका विविधि संकायहरु बिहानमा पढाइ हुने गर्छन् । तर पुस्तकालय १० बजेदेखि खोल्दा बिहानमा पढाइ हुने संकायका विद्यार्थीहरु मर्कामा परेका छन् ।

विगतमा क्याम्पस प्रशासन समक्ष यो मागसहित निवेदन लिएर विद्यार्थीहरु उपस्थित हुँदा प्रशासनले निवेदन समेत लिन नमानेको विद्यार्थीहरुले विज्ञप्तिमार्फत दुखः व्यक्त गरेका छन् । विद्यार्थीहरु स्वस्फूर्तरुपमा जम्मा भई प्रशासनमा उपस्थित भएर निवेदन दिन खोज्दा प्रशासनले वेवास्ता गरेपछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

आफूहरुको माग १५ दिनभित्र संवोधन गर्ने गरी विद्यार्थीहरु समक्ष प्रशासनले प्रतिवद्धता जाहेर नगरेसम्म ताला नखोलिने विज्ञप्तिमा जनाइएको छ । यदि क्याम्पस प्रशासनले विद्यार्थीको मागलाई पुनः वेवास्ता गरी दमन गरेर तालाबन्दी फुटाएमा आफूहरु थप सशक्तरुपमा प्रस्तुत हुने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया