चितवन । बि.स. २०२८ साल साउन २८ गते शुक्रबारका दिन बुवा कुल प्रसाद अधिकारी र आमा फुलमाया अधिकारीको कोखबाट जन्मनुभएका कृष्ण भनेर चिनिने माडी नगरपालिका ७ देबेन्द्रपुरका लेखनाथ अधिकारी तत्कालीन समयमा प्रशासनिक कामका लागि भरतपुर जानेक्रममा तत्कालीन नेकपा माओवादीले राखेको बिधुत्तीय धरापमा परी २ वटा खुट्टा ढाड र छातीको करङ्ग र हात भाँचिएको र हाल देब्रे खुट्टामा स्टिल राखेर अहिले सामान्य हिडडुल गर्दै आउनुभएको छ । र उहाँको अहिले पनि छातीको करङ्ग दायाँतिरको भित्र पसेको छ भने बायाँतिरको ३ वटा करङ्ग बाहिर निस्किएको छ । यसै समसामयिक बिषयबस्तुमा रहेर माडीबाट पत्रकार अजित अधिकारीले बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष अधिकारीसंग गर्नुभएको कुराकानी :

कहालीलाग्दो बाँदरमुढे घट्नालाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?

हृदयबिदारक घट्ना घटेको पनि आज १६ बर्ष पुगेर १७ बर्ष प्रवेश गरिसकेको छ । म त्यतिबेला प्रशासनिक कामको लागि भरतपुर जाँदै थिए । त्यहाँ पुग्दा बसको क्यारक्यार आवाज आइरहेको थियो । प्यासिन्जर सबैको अड्कल बसको बडी भागमा होला भन्ने रह्यो । आखिर त्यस्तो नभई एक्कासी ठुलो आवाजमा ड्वाम्म गरेको आवाज आएको मलाई थाहा नै भएन म बेहोस भएछु । पछि सुन्नमा आएअनुसार सादा पाेशाकमा  ७ जना नेपाली सेना  रहेछन् । त्यस घट्नामा ७५ जना घाइते र ३९ जनाको मृत्यु भयो ।

घटना पश्चात् तपाईं बेहोस हुनुभयो र होसमा कति समयमा आउनुभयो ?

सुरुमा मलाई केहीपनि थाहा भएन, बाँदरमुढे घट्नास्थलबाट उपचारका लागि एम्बुलेन्समा र त्यहाँबाट काठमाडौंको छाउनी अस्पतालमा लगियो । म घाइते र अर्धचेत अबस्थामा भएको बिहान ९ बजेतिर थाहा भयो ।

थाहा भएपछि तपाईंलाई कस्तो भयो ?

म यस्तो भएको बिश्वास लागेन पत्रपत्रिका, रेडियो, टेलिभिजन र अखबारहरुमा सबैतिर मेरो बारेमा समाचार आउदा सम्मपनि बिश्वास लागेन र पछि बिस्तारै थाहा पाए ।

घटना भएपछि तपाईं बिरामी अबस्थामा हुँदा तपाईंलाई सबैभन्दा पहिला कसले भेटे ?

मलाई सबैभन्दा पहिला अन्तराष्ट्रिय मानवअधिकारकर्मी, रेडक्रसकर्मी, पत्रकार र सबै सरोकारवालाहरुले भेटे ।

घटनापश्चात् उपचारमा कोहीकसैले सहयोग गरे या गरेनन् ?

सुरुमा आफ्नै खर्चमा उपचार गरे, उपचार गर्दा सुरुमा छाउनी अस्पतालमा आर्मीहरुले २५ दिन सम्मको उपचारको ब्यबस्था मिलाए । त्यसपछि आफैले उपचार गरियो झन्डै त्यतिबेला ७ लाख रुपैयाँ खर्च भयो ।

घटनापश्चात तपाईंको भेट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेट भयो ?

उहाँसंग जम्मा एक पटक चितवनको फुलबारीमा भेट भएको थियो । थुप्रै आश्वासन दिए तर कुनै पनि मुल्यांकन भएन । र उहाँ दुईपटकसम्म प्रधानमन्त्री बन्दा र यसै क्षेत्रको सांसद पनि हुनुहुन्छ । यो समयमा पनि उहाँले पीडितहरुलाई कयौं आश्वासन दिनुभयो । तर पनि पूरा गर्न सक्नुभएन र यो बीचमा माओवादी केन्द्रको म प्रति हेर्ने नजर पनि अलि फरक छ । जस्तोकी, उहाँ माडी आउदै गर्दा पहिले मेरो घरमा सुरक्षा फौजहरु वाइसीएलका कार्यकर्ताहरुले घर घेर्ने र अपमानित तवरले हेर्ने क्रम जारी छ । तपाईंले सोध्ने बित्तिकै मलाई याद आयो, घट्ना घटेको केही बर्षपछि माडीमा पहिलो पटक प्रथम माडी महोत्सव गरिएको थियो । त्यो समयमा कार्यक्रम उद्घाटन गर्न प्रचण्ड माडी आउने खबर थाहा पाएको थिए । म लगाएत हामी पीडित परिवारले आफ्नो पाराले कालो झण्डा देखाउन जानेक्रममा प्रहरी प्रशासनले भेट्न छ भनी कुराकानी गर्ने क्रममा मलाई ईप्रका बसन्तपुरमा ६ घण्टा हिरासतमा राखिएको थियो ।

त्यसपछि प्रचण्ड उद्घाटन सकेर के भनेर गए त, तपाईंहरुका लागि ?

उहाँले कार्यक्रम उद्घाटन गर्दै, बाँदरमुढे घाइते मृतक परिवार सबैलाई ६० लाख राहत प्याकेज घोषणा गर्नुभयाे, तर त्यो लागु गर्न उहाँले सक्नुभएन उहाँ पटक पटक प्रधानमन्त्री हुभयाे तर यो बारेमा  उहाँले काम गर्नुभएन ।

अन्त्यमा  के भन्नुहुन्छ ?

हामीलाई राज्यले नयाँ अबधारणा सहित राहत र प्याकेजका कार्यक्रमहरु ल्यायोस् आश्वासन दिनको लागि मात्र झुटा प्याकेज नआउन् । दोषीलाई कारबाही गरियोस् र अन्तमा बिद्युतिय धरापमा परि ज्यान गुमाउनु भएका सबैमा हार्दिक श्रद्धासुमन र घाइते भएका योद्धाहरु अझैपनि बिस्तारामा छटपटाईरहनुभएको छ । उहाँहरुलाई उपचारका लागि पहल गरियोस् । र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

 

तपाईको प्रतिक्रिया