गैंडाकोट- गायिका जीवनी कुमारी कुमाल र गायक बिन खातीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘पोखरा धनगढी’ गैंडाकोटमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। माया प्रेमको कथामा आधारित यस गीतको भिडियोमा गैंडाकोट आसपासका पर्यटकीय क्षेत्रहरूलाई आकर्षक रूपमा समेटिएको छ।
गीत सार्वजनिक गर्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भिडियोमा स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरू समेटिएकाले यसले क्षेत्रको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। गीतको भिडियोमा मौलाकालिका मन्दिर, मौलाकाली केबलकार, इला होटल र नारायणी नदी किनार लगायतका क्षेत्रहरू छायांकन गरिएका छन्।
गीतमा बिन खातीको लय तथा शब्द रहेको छ भने अडियो र भिडियोको समग्र संयोजन पनि खातीकै रहेको छ। भिडियोमा आनन्द गुरुङ र चाहना रानाभाटको मुख्य अभिनय देख्न सकिन्छ। जोन राईको निर्देशनमा तयार भएको यस भिडियोको सुटिङ संयोजन डिका गुरुङले गर्नुभएको हो।
गैंडाकोटकी स्थानीय प्रतिभा जीवनी कुमारी कुमालले यसअघि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिँदै आए पनि लोकदोहोरी क्षेत्रमा यो उनको पहिलो एल्बम हो। गीतलाई गायिका कुमालकै आधिकारिक युट्युब च्यानल मार्फत बजारमा ल्याइएको छ।
गामबेसी सांस्कृतिक कला केन्द्रका अध्यक्ष कमल बहादुर कुँवरको अध्यक्षतामा भएको उक्त सार्वजनिकिकरण कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष कृष्ण सापकोटाले गर्नुभएको थियो।

उज्यालो खबर