बर्दघाट- नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने बस चालकसहित तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बिहान अन्दाजी ०५:०० बजे काठमाडौंबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ख ०६६५ नम्बरको बसलाई सोही दिशामा गुडिरहेको ना ५ ख १९०५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका–६ की ३० वर्षीया नेहा गुरुङको उपचारका क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको हो । उनको टाउको, मुख र छातीमा गम्भीर चोट लागेको थियो । चिकित्सकले उनलाई बिहान ०५:३० बजे मृत घोषणा गरेका थिए । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरूमा विनयी त्रिवेणी–६ का ३२ वर्षीय मदन क्षेत्री र प्रतापपुर गाउँपालिका–९ का ३५ वर्षीय दिनानाथ चौधरी रहेका छन् । उनीहरूको टाउको र हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, दुर्घटनामा मध्यम घाइते भएका बस चालक बर्दघाट नगरपालिका–४ का ४८ वर्षीय लक्ष्मण ज्ञवालीलाई चिसापानी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि रूपन्देहीको भलुहीस्थित देवदह मेडिकल कलेजमा रिफर गरिएको छ । उनको टाउको र हातमा चोट लागेको छ ।
बसमा सवार कुल १५ जना यात्रुमध्ये अन्य ११ जना भने सकुशल रहेका छन् । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक धादिङ सिद्धलेख गाउँपालिका–३ बस्ने २३ वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

उज्यालो खबर