×

गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ उत्साह र लोकप्रिय योजनाहरू समेट्दै १ अर्ब २८ करोड ८८ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख शान्ती कोइरालाले प्रस्तुत गर्नुभएको यस बजेटमा दैनिक प्रशासनिक तथा चालु खर्चतर्फ ७८ करोड ६२ लाख ६० हजार रुपैयाँ र नगरको विकास निर्माण अर्थात् पुँजीगत खर्चतर्फ ५० करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस पटक नगरपालिकाले आन्तरिक राजस्वलाई आफ्नो मुख्य खम्बा बनाउँदै रैथाने स्रोतबाटै ४४ करोड २२ लाख ५३ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने बाँकी स्रोत अन्तर-सरकारी वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट र सञ्चित कोषबाट बेहोरिनेछ।

बजेट सार्वजनिक हुनुअघि नगरप्रमुख मदनभक्त अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषिलाई आमूल परिवर्तन गर्ने खालका आकर्षक योजनाहरू अगाडि सारिएका छन्। विशेष गरी भौगोलिक रूपमा विकट मानिएका वडा नम्बर ३ र १८ का गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका नागरिकका लागि नगरपालिकाले अब पूर्ण रूपमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै, सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले ५ हजार रुपैयाँ नगद भत्तासहितको ‘सुत्केरी आमा पोषिलो खाना कार्यक्रम’ ल्याइएको छ। नगरका ४० वर्षभन्दा माथिका नागरिकका लागि क्यान्सर, मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षण गरिनेछ भने विपन्न नागरिकको आकस्मिक उपचारका लागि छुट्टै सुरक्षा कोष र आयुर्वेदतर्फ ३५ प्रकारका औषधि निःशुल्क बाँड्ने तयारी गरिएको छ।

शिक्षा र वातावरणको क्षेत्रमा पनि गैँडाकोटले निकै सरहानीय र स्वास्थ्यमैत्री कदम चालेको छ। अब नगरभित्रका विद्यालयहरूमा बालबालिकाको स्वास्थ्य बिगार्ने पत्रु खाना (जङ्क फुड) लाई पूर्ण रूपमा निषेध गरिनेछ। पर्यावरण जोगाउन र स्थानीय रोजगारी बढाउन प्लास्टिकजन्य सामग्रीलाई निरुत्साहन गर्दै सालको पातबाट बन्ने दुना-टपरीको प्रयोगलाई अनिवार्य जस्तै बनाइने नीति लिइएको छ। शैक्षिक गुणस्तर सुधार्न ‘बिग स्कुल’ र आवासीय विद्यालयको अवधारणा ल्याइएको छ भने विद्यार्थीहरूलाई रैथाने उत्पादनबारे सिकाउन ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम लागू गरी स्थानीय उत्पादनलाई नै पाठ्यसामग्रीको रूपमा प्रयोग गरिनेछ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन नगरपालिकाले यस वर्ष निकै आकर्षक र प्रवर्द्धनात्मक नाराहरू अघि सारेको छ। ‘गैँडाकोटको भिजन : मकै सबै सिजन’ र चैतेधानको क्षेत्र विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै ‘एक समूह : एक कृषि नमूना व्यावसायिक खेती’ को जग बसालिने भएको छ। यसका साथै रैथाने बालीको संरक्षणका लागि वडा नम्बर ३ र १८ मा तरुल खेतीलाई प्रोत्साहन गरिनेछ भने वडा नम्बर १८ मा फैलिरहेको केरा तथा चिया बगानलाई थप विस्तार गर्दै नगरलाई कृषि पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने महत्वकाङ्क्षी लक्ष्य नगरपालिकाले लिएको छ।

तपाईको प्रतिक्रिया