गैँडाकोट- गैँडाकोट नगरपालिकाले यस वर्षको उत्कृष्ट कर्मचारीको रूपमा दुई जना कर्मचारीहरूलाई नगद र सम्मानपत्रसहित सम्मानित गरेको छ। नगरपालिकाको आज सम्पन्न १९औँ नगरसभा अधिवेशनको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गरेबापत उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा गैँडाकोट नगरपालिकाको पञ्जिकरण शाखाका प्रमुख देवेन्द्र बहादुर कुमाल र गैँडाकोट–१८ मा रहेको रतनपुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव बिना कुमारी माप्छन मगर रहेका छन्। नगरसभाको भव्य समारोहका बीच नगर प्रमुख (मेयर) मदनभक्त अधिकारी र उपप्रमुख (उपमेयर) शान्ति कोइरालाले संयुक्त रूपमा उनीहरूलाई जनही नगद १० हजार रुपैयाँ र सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गर्नुभएको थियो। नगरपालिकाले कर्मचारीहरूको हौसला र कार्यक्षमता बढाउन हरेक वर्ष यसरी उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्दै आएको छ।
समारोहमा सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले कर्मचारीहरूको उत्कृष्ट कार्यसम्पादनकै कारण नगरपालिकाको सेवा प्रवाह जनमुखी र प्रभावकारी बन्दै गएको बताउनुभयो। यस किसिमको सम्मानले सम्मानित कर्मचारीहरूमा कार्यक्षेत्रमा खटिन थप ऊर्जा मिल्ने र अन्य कर्मचारीहरूलाई समेत भोलिका दिनमा अझ जिम्मेवार र उत्कृष्ट काम गर्न ठूलो प्रेरणा मिल्ने विश्वास अधिकृत लामगादेले व्यक्त गर्नुभयो।

उज्यालो खबर