भरतपुर। पश्चिम चितवनको मेघौलीलाई अब प्राकृतिक सौन्दर्यसहितको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आफू लागिपर्ने भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस क्षेत्रमा आज मङ्गलबार आयोजित घरदैलो र चुनावी सभाका क्रममा उम्मेदवार सुवेदीले पर्यटकीय केन्द्रको सम्भावना बोकेर पनि आवश्यक पूर्वाधार नहुँदा मेघौली पछाडि परेको बताउनुभयो ।

वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सुवेदीले पश्चिम चितवनबाटै घरदैलो अभियान शुरुवात गर्नुभएको थियो । उहाँले महानगरका २७ र २८ नम्बरका मतदातासँग भेटघाट सम्पन्न गरी नारायणी र राप्ती नदीको तटबन्ध गरी आवास, सडक, हरियाली किनार, जलक्रिडा र अन्य यातायातको विकास गर्ने पनि बताउनुभयो ।

बीसहजारी ताल र सीतामाइदेखि मेघौली गोलाघाटसम्मको राप्ती करिडोरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो योजना रहेको पनि घरदैलोको क्रममा उहाँले बताउनुभयो । सोमबार मात्रै सुवेदीले मेयरमा मनोनयन दर्ता गर्नुभएको थियो ।
स्वच्छ, सुन्दर र समृद्ध भरतपुर निर्माणका लागि महानगरबासीकै साथ र सहयोगमा कार्यथालनी गरिने पनि उहाँले बताउनुभयो । मेघौली बिमानस्थलको स्तरोन्नती गरी यसको सञ्चालन गर्न सकिए यस क्षेत्रका जनताको आर्थिकस्तर समेत वृद्धि हुने हुँदा यस कामका लागि आफू प्रतिबद्ध रहेको सुवेदीले बताउनुभयो ।

बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवारमा सिफारिस गरेसँगै उहाँले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको थियो ।सो क्रममा स्थानीयले स्वच्छ छविका उमेदवारका रुपमा विजय सुवेदीलाई पाउँदा खुसी लागेको बताए ।
एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेकाले घरदैलोमा राप्रपाका तर्फबाट उपमेयरकी उम्मेदवार हिमला गुरुङको पनि सहभागिता थियो । एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ ।

बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । भरतपुरको २७ नम्बर वडामा ६०३८ र २८ नम्बर वडामा ४८२१ मतदाता छन् । महानगरमा भने एक लाख ८५ हजार ७५२ मतदाता छन् ।घरदैलोका क्रममा उपमेयरकी उम्मेदवार गुरुङले विकासप्रेमी मेयरको साथमा काम गर्न सके भरतपुरको मुहार फेर्न सकिने बताउनुभयो । विकास गर्नु सबैको साझा दायित्व भएकाले मेयरले गरेका हरेक प्रतिवद्धतामा आफ्नो सहभागिता र समर्थन रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश सांसद तथा राप्रपाकी सहमहामन्त्री रिना गुरुङले मेयर–उपमेयर पद कसैको पेवा नभएकाले जनताबाट अनुमोदित हुनुपर्ने बताउनुभयो । चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै उहाँले जनताका अपेक्षा अनुसारका विकास गर्न व्यवस्थित गुरुयोजना र नीति आवश्यक रहेकोले एमाले राप्रपाको गठबन्धनलाई विजयी गराउन आह्वान गर्नुभयो ।

उहाँले महानगरमा अहिलेका विकास दीर्घकालीन सोचले नभएकाले अब भविष्यका लागि सोचेर व्यवस्थित विकासका योजनाहरु कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।चुनावको मुखमा केही योजना शिलन्यास र उद्घाटन गरेको देखाउँदै जनता झुक्याउने काम भएको गुरुङको टिप्पणी थियो । टोल–टोलबाट माग भएका कैयन योजनाहरुलाई बेवास्ता गरिएको महसुस महानगरवासीले गरेको गुरुङको भनाइ छ ।कार्यक्रमा एमाले र राप्रपाका उल्लेख्य कार्यकर्ता र स्थानीय वासिन्दाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया