×

गाेरखा । गोरखामा नेकपा एमालेको भीमसेन थापा गाउँपालिका कमिटीको अध्यक्षमा २४ बर्बीय सुजन सिंखडा चयन भएका छन् । यही कात्तिक ९ गते भएको पालिका अधिवेशनबाट सिंखडा सर्वसम्मत गाउँपालिका अध्यक्षमा चयन भएका हुन् ।

उनले भीमसेनथापा गाउँपालिका–४ धावाका २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गरेका थिए । उनले एसएलसी सकेर चितवन पढ्न गएपछि विद्यार्थी राजनीति थालेका बताए ।

को हुन् सिंखडा ?
चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपीआई) मा अध्ययन गर्दा २०७० सालमा पहिलो पटक एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको साधारण सदस्य लिएको उनको भनाई छ ।

२०७१ सालमा उहाँ अनेरास्ववियू एनपीआई (सीटीईभीटी)को इकाइ कमिटी सदस्य बनेका थिए भने २०७३ साल साउन महिनामा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उनी त्यसै वर्ष भदौमा भएको इकाइ सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

२०७४ सालमा अनेरास्ववियुको सीटीईभीटी राष्ट्रिय कमिटी सदस्य बनेका उनी एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७६ सालमा अनेरास्ववियु गोरखाको सहसंयोजक भए । २०७७ साल पुस २५ गते अनेरास्ववियुको जिल्ला अध्यक्षमा सर्वसम्मत उनी चयन भएका थिए ।

२०७७ सालदेखि नै उनले एमालेको भीमसेन थापा गाउँपालिकाको पार्टी सचिवको जिम्मेवारी पनि पाएका थिए । युवा उमेरमै पार्टीको गाउँपालिका अध्यक्ष बनेका सिम्खडा संगठन विस्तारमा दिनरात खट्ने बताए ।

तपाईको प्रतिक्रिया