×

भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौली जंगलमा चित्तल मार्ने एउटा बोलेरो गाडीलाई डिभिजन वन कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार सुरेशचन्द्र अधिकारीको व्यवसाय भिजन सप्लायर्सको नाममा रहेको बा १० च २७९४ नम्बरको बोलेरोले कार्तिक २ गते टिकौलीमा चित्तललाई ठक्कर दिएको थियो । दूध बोकेर टाँडीतर्फ जाँदै गरेको बोलेरोको ठक्करबाट करिब डेढ वर्षको भाले चित्तल मरेको थियो । अधिकारीको बसेनीमा दूध डेरी पनि छ ।

चित्तल मरेपछि गाडी र चालकलाई सोही दिन नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय भरतपुरको मुद्दा शाखाका नासु यज्ञकुमार सापकोटाले जानकारी दिए । गाडी चालक भरतपुर महानगरपालिका–२ बस्ने मेघबहादुर तामाङ सोही दिन १३ हजार रूपैयाँ धरौटी तिरेर छुटेका हुन् ।

गाडी भने अझै पनि वनको नियन्त्रणमा छ । गाडी र गाडी चालकविरूद्ध कार्तिक ७ गते मुद्दा दर्ता गरिएको सापकोटाले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (६) अनुसार दोषीलाई २० हजार जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुन सक्छ ।

तपाईको प्रतिक्रिया