नवलपुर । गैँडाकोटको कांग्रेस चोकमा मञ्जुश्री फाईनान्सको मंगलबारदेखि शुभारम्भ भएको छ । फाईनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डितले रिबन काटेर शाखाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले शाखाबाट सबैप्रकारका वित्तीय सेवाहरु प्रदान गरिने जानकारी दिनुभयो । उहाँले मंगलबारकै दिन चितवनको हाकिम चोक र पर्सा बजारमा समेत नयाँ शाखाहरुको शुभारम्भ भएको जानकारी दिनुभयो ।

शाखाका प्रवन्धक कृष्णप्रसाद सापकोटाले फाईनान्सले मध्यम तथा मझौला उद्योगहरुलाई व्यवसायिक कर्जा प्रवाह गर्ने उद्देश्य रहेको बताउनुभयो । सापकोटाले कोभिडबाट सिथिल भएका व्यवसायहरुलाई समेत कर्जा प्रवाह गरेने जानकारी दिनुभयो । मञ्जुश्री फाइनान्सको काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको छ । यसैगरी नारायणगढ, काठमाडौंको न्युरोड, पाल्पारोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगिकुटी, मणिग्राम र भैरहवा गरी १५ वटा शाखाहरु रहेकोमा मंगलबारदेखि संचालनमा आएका थप ३ वटा शाखाहरुसहित यसको संख्या १८ पुगेको छ ।

मञ्जुश्री फाइनान्सले गत असार मसान्त सम्म रु ९६ करोड ५३ लाख चुक्ता पुजी एवं ५० करोड डिवेन्चर जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको स्वीकृती पाएको राष्ट्रिय स्तरको यो फाईनान्सले रु. ८.९१ अर्ब निक्षेप संकलन गरेको र ७.९५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । साथै यस फाइनान्सले विप्रेषण, मोवाईल बैंकिङ, ईन्टरनेट बैंकिङ र एटिएम लगायतका सरल निक्षेपमा आकर्षक ब्याज दरको सुविधा पनि दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया