भरतपुर। प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारहरूलाई भरतपुर महानगरको नगरसभामा प्रवेश रोक लगाएको घटनाप्रति घोर निन्दा र भत्र्सना गरेको छ । शाखा अध्यक्ष सुवास पण्डितले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।

जारी विज्ञप्तिमा महानगरको नगरसभाको रिपोर्टिङ गर्न पुगेका चितवन पोष्टका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थल बाहिरबाटै फर्काईएको घटनाले भरतपुर महानगरपालिका लोकतान्त्रिक मूल्य मान्यताप्रति बफादार र जनताप्रति उत्तरदायी नभएको छर्लङ पारेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “जनसरोकारको विषयमा सार्वजनिक कार्यक्रम हुँदा पत्रकार महासंघ, जिल्लाका क्रियाशील पत्रकारहरुलाई समेत जानकारी नदिनु र आफै सूचना पाएर पुगेका पत्रकारहरुलाई पनि छानीछानी भित्र प्रवेश गर्न नदिनु लज्जास्पद र निन्दनीय कार्य हो । हामी उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं ।”

विज्ञप्तिमा स्थानीय सरकारहरुले गर्ने सार्वजनिक कार्यक्रमका बारेमा जनताले थाहा पाउनु र सूसुचित हुनुसँग यतिधेरै सशंकित हुनुलाई महानगरको सुशासन, पारदर्शीता र जवाफदेहितामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कमिकमजोरी नदोहो¥याउन र पत्रकारहरुलाई निर्वाध रुपमा समाचार सम्प्रेषण गर्ने वातावरण सिर्जना गर्न जोडदार माग गरिएको छ ।

तपाईको प्रतिक्रिया