×

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० चितवन शाखामार्फत चितवनलाई कार्य क्षेत्र बनाएर सञ्चार क्षेत्रमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ। नेपाल मगर सांस्कृतिक संघ चितवन र भरतपुर १० मा रहेको महेश मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक महेशकुमार यादवको सहयोगमा फोनिजले पत्रकारहरुलाई उक्त सामग्री वितरण गरेको हो। नेपाल मगर सांस्कृतिक संघले फोनिजका लागि १०० थान कोरियन मास्क, ५० थान स्यानिटाइजर र २० थान फेस सिल्ड सहयोग गरेको थियो।

यस्तै रौतहट स्थायी घर भई चितवनमा रहेर स्वास्थ्य क्षेत्रमै सक्रिय महेशकुमार यादवले पाँच हजार थान सर्जिकल मास्क, र १०० थान स्यानिटाइजर सहयोग गरेपछि फोनिजले वितरण गरेको अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए। हालको परिस्थितिमा सञ्चार क्षेत्रमा रहेका साथीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने आवश्यता भएकोले संस्थामार्फत सहयोग जुटाएर आफ्ना सदस्यसमक्ष पुगेको उनले बताए।

सहयोग गर्ने दाता यादवले फोनिजलाई मात्र नभई कोरोना संक्रमितको शव व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय चितवनलाई स्टिलको स्ट्रेचर र वडा प्रहरी कार्यालय नारायणगढलाई पनि नदीबाट विभिन्न व्यक्तिलाई उद्धार गर्नुपर्ने हुँदा त्यसैको लागि पनि एक थान सोही खालको स्ट्रेचर सहयोग गरिसकेका छन्।

फोनिजमार्फत जनजाति पत्रकारहरुलाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई पनि खुसी लागेको नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले बताइन्। आगामी दिनमा पनि आवश्यक पर्दा फोनिजसँगको सहकार्यलाई निरन्तरता दिन आफू र आफू आवद्ध संस्था सधैँ तत्पर रहेको उनले बताइन्।

फोनिज चितवनका सचिव तुलमान गुरुङ, निवर्तमान उपाध्यक्ष रमेश रानामगर र नेपाल मगर सांस्कृतिक संघ चितवनका सल्लाहकार ईश्वर रानामगरले पत्रकारहरुलाई उक्त सामग्री वितरण गरेका थिए। फोनिजभित्रका मात्र नभई फोनिजभन्दा बाहिरका पनि क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको सचिव गुरुङले जानकारी दिए।

चितवनमा फोनिज मातहतमा थारु पत्रकार संघ, नेवा पत्रकार राष्ट्रिय दवूः, तामाङ पत्रकार संघलगायतका जातीय पत्रकारका संगठन आवद्ध छन् भने गुरुङ र मगरको संगठन विस्तार गर्ने क्रममा छन्। दराई, कुमाल, राई, चेपाङलगायतका जातिको संख्या भने न्यून छ। तर वर्तमान समयमा सूचना संकलन र सम्प्रेषणकै लागि सजग र सचेत भएर काम गर्न फोनिज चितवनले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ।

 

 

तपाईको प्रतिक्रिया