काठमाडौं । नेपालको निजी लगानीको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले जहाज थपेको छ । कम्पनीको एटीआर ७२-५०० जहाज आज भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदैछ ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज साँझ साढे ६ बजे काठमाडौं आउने कार्यक्रम छ । कम्पनीका अनुसार जहाज खरिदको निर्णय निषेधाज्ञा भन्दा अगाडि नै भएको थियो ।
सोहीअनुसार बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुबाट अन्तर प्रदेश उडानको घोषणा समेत गरेको थियो ।‘नयाँ जहाज ल्याएर पोखरा-विराटनगर, सिमरा, नेपालगन्ज, जनकपुरसहितका गन्तब्यमा उडानको योजना बनेको हो,’ कम्पनीका एक उच्च अधिकारीले भने, ‘कोरोना महामारीपछि त्यो योजना पर सरेको छ ।’
नयाँ जहाज थप भएसँगै अब कम्पनीसँग कुल जहाज संख्या १५ पुगेको छ । त्यसमध्ये एटीआर ७२ मात्र १० पुगेको छ ।