
चितवन ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि एवम् पत्रकार दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत प्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
वुधबार (१२ गते) पुरस्कार रकम राप्ती नगरपालिका २ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो । इन्सेकले यस वर्ष उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीलाई सम्मान एवम् सात हजार नगद सहित पुरस्कृत गरेको थियो । मृतक राजकुमारको २ वर्षको छोरी एलिना चेपाङको शिक्षामा प्रयोग हुने गरी बालिकाको नाममा खोलिएको बैंक खातामा रकम जम्मा गरिएको हो ।जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीमार्फत रकम हस्तान्तरण गरिएको हो ।
मानवअधिकारको क्षेत्रका सक्रिय भइ काम गरेवापत पाएको पुरस्कार मानवअधिकार उलंघन भइ पीडित बनेका परिवारका लागि उपलब्ध गराउनु सह्रानीय काम भएको जिसस प्रमुख डल्लाकोटीले बताए । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले सहयोग गरिएको रकमले प्रत्यक्ष रुपमा बालिकालाई उनको शिक्षा दिक्षामा फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए । प्रजातन्त्र दिवसको दिन हेटौंडामा आयोजित इन्सेक मानवअधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका मुख्य न्यायधीवक्ता ओमप्रसाद थपलियाले नगद ७ हजार प्रमाण पत्र सहित सम्मान एवम् पुरस्कृत गरेका थिए ।
जिल्लाको मानवअधिकार गतिविधिमा सक्रिय सहभागिता जनाएको, मानवअधिकारको पक्षमा निरन्तर वकालत गरेको र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रतिनिधि अधिकारीलाई सम्मान गरिएको इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए ।
साउन १ गते चितवन निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका कर्मचारीको निर्घात कुटपीटबाट सख्त घाइते भएका २४ वर्षीय राजकुमारको साउन ७ गते उपचारका लागि भरतपुर लगिँदै गर्दा निधन भएको थियो । यस घटनाका आरोपीत सेनाका हुद्दा तहका कर्मचारी चिरण वुढा जिल्ला अदालत चितवनको असोज २७ गतेको आदेशले पूर्पक्षका लागि थुनामा छन् । यस घटनामा अन्य ६ जनामाथि पनि कुटपीट भएको थियो ।