×

चितवन । चितवन मुवाँ थाई संघको आयोजनामा चितवनमा टप फाइभ मुवाँ थाई प्रतियोगिता हुने भएको छ । संघले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन १ गते प्रतियोगिता हुन लागेको जनाएको हो । नेपालका उत्कृष्ट खेलाडी सहभागी हुने प्रतियोगितामा प्रो राउण्डतर्फ १२ जना खेलाडी सहभागी हुने चितवन मुवाँ थाई संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । प्रो राउण्डमा महिलाको एउटा तथा पुरुषको पाँच वटा फाइट हुने गुरुङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनका क्रममा नेपाल मुवाँ थाई संघका अध्यक्ष गणेश कक्षपतीले प्रतियोगितामा ४८ केजीतर्फ विश्व च्याम्पियनसहितका खेलाडी सहभागी हुने बताउनुभयो ।

विश्व च्याम्पियन एपीएफ क्लबका सञ्जय राई थाइल्याण्डमा भएको प्रतियोगितामा स्वर्णपदक विजेता नेपाल आर्मीका गुणराज रुचाल सहितका खेलाडीको फाइट हुने कक्षपतीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतियोगिताको प्रो राउण्डमा महिलातर्फ ४८–५१ किलो तौल समूहमा नतिशा रानामगर र जेनिका राईको फाइट रहेको उहाँले बताउनुभयो । त्यस्तै पुरुषतर्फ ५१–५४ तौल समूहमा सिनल चौधरी र सन्दिप तामाङ, ५७–६० तौलसमूहमा रोहित शाही र दावाफोर्जे तामाङ, ५३ केजी तौलसमूहमा कविन देशार र सञ्जय राई, ६० केजी तौलसमूहमा गुणराज रुचाल र वरुण घले तथा ह्याभी वेटतर्फ (८० केजी) रसिक जारी र सलम लेप्चाबीच फाइट हुने कक्षपतीले बताउनुभयो । त्यस्तै प्रतियोगितामा एमोचर समूहतर्फ तीन वटा फाइट गरिने भन्दै यो समूहमा फाइट बढ्न सक्ने कक्षपतीको भनाइ छ ।

प्रतियोगितामा सहभागी खेलाडीले १० हजार रुपैयाँ तथा विजयी हुने खेलाडीले थप पाँच हजार रुपैयाँ पुरस्कार पाउने उहाँले बताउनुभयो । चितवनमा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको मुवाँ थाई प्रतियोगिता भइसकेको छ । सो पत्रकार सम्मेलनमा चितवन मुवाँ थाई संघका प्रमुख सल्लाहकार ईश्वर सापकोटाले यो खेल रिङमा खेलाइने खेल भएकाले दक्ष खेलाडीले मात्रै खेल्ने बताउनुभयो । यो खेल आत्मरक्षाका लागि अति नै महत्वपूर्ण मानिने भएकाले महिलाहरुले मुवाँ थाई खेल सिक्नुपर्ने बताउनुभयो । प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको दुई लाख रुपैयाँ बराबरको बिमा गरिएको समेत आयोजक चितवन मुवाँ थाई संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया