टेक्सस । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगतको युलेस सिटी काउन्सिलको निर्वाचनमा पहिलो पटक नेपाली समुदायका एक अगुवाले उम्मेदवारी दिएका छन् ।
युलेस सिटीमा विगत १५ वर्षदेखि बस्दै आएका टीका पौडेलले शुक्रवार उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको उम्मेदवारी दर्ताका लागि नेपाली समुदायका अगुवाहरू उल्लेख्य रूपमा सहभागी थिए । युलेस सिटी अफिसमा उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, डा। मुरली अधिकारी, ज्ञानेन्द्र कार्की, शैलेशराज आचार्य, मोहन ज्ञवाली लगायत दुई दर्जनको सहभागिता थियो ।
आउँदो मे १ तारिकमा सिटी काउन्सिलको चुनाव हुँदैछ । टेक्ससको युलेस सिटी नेपाली भाषीहरुको उल्लेख्य बसोबास रहेको सिटी हो । दुई वर्ष अघि भएको सिटी काउन्सिलको चुनावमा नेपालीहरूको सहयोगमा पाकिस्तानीमुलका सलमान भोजनी विजयी भएका थिए । गत नोभेम्बरमा भएको मेयरको चुनावमा पनि नेपालीहरूको मत मेयर लिण्डा मार्टिनले पाएकी थिइन् । मेयर लिण्डा पनि आप्रवासी हुन् । उनी पूर्बी युरोपेली मुलुक इस्टोनियाबाट बाल्यकालमै अमेरिका आएकी हुन् ।
यस पटकको चुनावमा नेपालीमुलका अमेरिकीहरूको सहभागिता हुनुपर्ने आवाज उठेपछि पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । युलेसमा एकहजार भन्दा बढी नेपालीभाषीहरु मतदाता छन् ।
‘अमेरिका बसेर यही बस्ने नेपालीमुलका आमा–बा, दाजुभाइ दिदीबहिनी र छोराछोरीहरूका लागि केही गर्नुपर्छ भन्ने सोचेर राजनीतिमा प्रवेश गरेको हुँ’ पौडेलले भने । नेपालको चितवनमा जन्मिएका पौडेल अमेरिका आएपछि व्यवसायका अलावा सामाजिक क्षेत्रमा निकै क्रियाशील छन् ।
आफ्नो उम्मेदवारीबाट नेपाली समुदाय निकै उत्साहित भएको पनि उनले बताए । नेपाल मात्रको मतले सिटी काउन्सिलमा विजयी हुन गाह्रो भएकोले विभिन्न समुदायहरूसँग भेटघाट अन्तरक्रिया, चुनाव प्रचार प्रसारलाई तीव्र बनाउने समेत उनले जानकारी दिए ।
पौडेलको उम्मेदवारीले नेपाली समुदाय निकै उत्साहित भएको छ।