चितवन । भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको सिटीहल र पुलचोक गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ १७ गते शनिबार चितवन आउने भएका छन् । दुबै राष्ट्रिय गौरबका आयोजना संघीय सरकारको बजेटबाट निर्माण हुन लागेका हुन् । शिलान्यास कार्यक्रमपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले भरतपुर केन्द्रीय बस टर्मिनलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले गर्ने शिलान्यास कार्यक्रम र जनसभाबारे ओली पक्षको नेकपा चितवनले जानकारी दिएको छ । वर्तमान राजनीतिक परिस्थिति, नेपाल सरकार र नेकपाको आगामी योजनालगायतका समसामयिक विषयमा ओलीले सम्बोधन गर्ने पनि नेकपा चितवनले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको नमुना मोडेलमा सिटी हल
प्रधानमन्त्रीले शिलान्यास गर्ने सिटी हल अन्तर्राष्ट्रिय स्तरको नमुना मोडेलमा बन्ने भएको हो ।भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल बन्नेछ ।२७ महिनामा निर्माण सम्पन्न गर्नेगरी संघीय सरकारको ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीसँग सम्झौता भईसकेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ ।
सिटी हल दुई हजार मानिस अट्ने क्षमताको रहन्छ । छेउछाउँमा पनि २०० जना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ ।
पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेनको सडक
यसैगरी प्रधानमन्त्रीले शिलान्यास गर्ने अर्को योजना पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेनको सडक पनि हो । हाल दुई लेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो ।
सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको हो । सडक डिभिजन भरतपुर कार्यालयका इञ्जीनियर विजय दराईले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको बताए । दुई अर्बको लागतमा सडक विस्तार हुनेछ ।
सडक सीमा ५० मिटरको चौडाइँलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–बुटवल सडक खण्डकै आधारमा यो सडक निर्माण गरिनेछ । सडकको दुबैतर्फ फुटपाथ, ढल, सर्भिस लेन छुट्याइएको छ । यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ ।
यस्तो बन्दैछ सिटी हल