यमुना अर्याल (काफ्ले)

हामीले आजसम्म बुझेको एउटै बुझाइ हो, जुन महिलाको काम घरमा मात्रै बस्ने, घरधन्दामात्रै गर्ने, बिहान हतारहतार गर्दै अफिसको लागि नकुद्ने, बालबच्चा स्कुल लैजाने, स्कुलबाट ल्याउने,घरको सरसफाइ गर्ने,श्रीमानलाई अफिस पठाउने

पाहुनाको स्वागत सत्कार, घरका आफन्तको खुसीका लागि घर गृहस्थी सम्हाल्ने

यस्तै यस्तै काममा लागिरहने महिला गृहिणीको सूचीभित्र पर्छन्।

कार्यक्षेत्र विशाल भए पनि, कामको प्रकृति अनगिन्ती भए पनि कति सजिलै भन्छौ, फलानी त अफिस जाँदिनँ, घरमा बस्नेमात्रै हो भनेर।

घरमा बस्नेमात्रै भन्ने अनि घरको सारा काम उनकै जिम्मामा छाडिदिएपछि कसरी घरमा बस्नेमात्रै भन्न सक्छौं ?

केही दिनअघि मेरो एक जना साथीले सुनाइन्, तिमी पो अफिस जान्छौ र काम छ, काम गर्छु भन्न पनि सुहाउँछ, आफू त घरमै बस्ने त हो के काम हुनु नि !

मलाई यसो भन्ने साथी काठमाडौंकी स्थायी बासिन्दा हुन्, उनको संयुक्त परिवार छ। सगोलको परिवारमा उनी कान्छी बुहारी हुन्, घरका पुरूषहरू व्यापाररव्यवसाय सम्हाल्छन् , महिलाहरू घरधन्दा सम्हाल्छन्।

यी साथीका दुई वटी छोरी छन्, अहिले त दुवै छोरीको अनलाइन कक्षा चलिरहेको छ, बच्चाको कक्षा भन्दा पनि बाउआमाको पढाइ चलेजस्तो भइरहेको आभाष स्वयम् मलाई हुन्छ, उनलाई पनि हुँदो हो।

बच्चाले आफ्नो लागि होइन बाउआमाको लागि पढिदिन्छन्, परिवारको एक जना आफन्त छेउमा बसिदिएन भने अनलाइन कक्षा कति छिट्टै सकाइदिन्छन् बच्चाले पत्तै हुँदैन।

यी साथीले दुई वटा छोरीको अनलाइन कक्षा आफैं खटेर गराउँछिन्, बुढी, रोगी सासूआमा छिन्। उनको ख्याल हरबखत गर्नुपर्छ, यो जिम्मा पनि उनकै काँधमा छ। साथीले नै सुनाएकी थिइन्, ‘पाँच मिनेट कतै गएँ भने कान्छी …..कान्छी भनेर आमा कराइहाल्नुहुन्छ…………..एकैछिन छोड्न मिल्दैन’।

जेठाजु र श्रीमानको लागि खाना बोकेर पसल भएको स्थानसम्म उनैले पुराउँछिन्, जेठानीको आफ्नै उद्यम छ घरमै उनी पनि व्यस्त हुन्छिन्। खाली हुने उही कान्छी बुहारी।।।

बिहान पसलमा खाना पुर्‍याउने, दिउँसो खाजा पुर्याउने, साँझ सबै जनालाई खाना बनाउने, खुवाउने, सबै जना आफ्नो कामबाट थाकेर आएका हुन्छन्, जेठानी घरमै भए पनि दिनभर टेलरको काम गर्छिन्, लुगा सिलाउँदा सिलाउँदा जेठानीको हात दुखेर चलाउन हुँदैन, भान्जीको पढाइबाट फुर्सद हुँदैन उही फुर्सदिली हुने भनेकी कान्छी बुहारी नै हो।

घरमा काम गर्ने मान्छे राख्दा कसैलाइ चित्त बुझ्दैन, बच्चा हुर्किसके , केको लागि राख्ने भन्ने तर्क गर्छन्।

जसको एक मिनेट फुर्सद हुँदैन उसकै पहिचान केही काम नगर्ने फगत घरमा बस्ने भन्ने मात्रै हुन्छ र ?

यी साथी जो ठूलो घरको कान्छी बुहारी हुन् उनले कति जनाको जिम्मेवारी पूरा गरिरहेकी होलिन् एकछिन विचार गरौं त ?

मैले बारम्बार यी साथीलाई भन्छु, तिमी आफूलाई काम नभएको, घरमै बस्ने भनेर किन भन्छौ रु बिहान अफिसको लागि हिँड्नेमात्रै काम हुन्छ र रु यी साथी मलाई जागिरे भएकोमा निकै ठूलो ठान्छिन्, सायद आफूसँग जे छैन, त्यही ठूलो लाग्छ जसलाई पनि।

पहिले प्राइभेट संस्थामा जागिर खाएकी यी साथी बच्चा जन्मेपछि जागिर छाडेकी हुन्।

उनलाई निकै सम्झाएँ, ‘तिमी यही काठमाडौंकै बासिन्दा भएर पनि यस्तो कुरा गर्छौ, म जस्ता जसलाई तिमी जागिरे, के के न ठूलो काम गरेको जस्तो उपमा दिन्छौ नि आम म जस्ता अधिकांश महिलाहरू जागिरे गृहिणी हौं, यसमा अन्यथा नमान’।

आफ्नै कहानी सुनाए उनलाई।

तिमी जे काम गर्छौ नि त्यही काम हतार हतार सकाएर अफिस जान्छु म। भलै तिमीलाई दिनभरि लाग्ला तर मैले त्यही काम अफिस आउनुभन्दा पहिले नै गर्नुपर्छ। बिहान घरको सारा कामधन्दा सकाउनुपर्छ, अर्काको घरमा भाडामा बसेर, संघर्ष गरेर बल्लतल्ल जागिर खाने अवसर पाएको हो साथी, काम गर्ने सहयोगी राखेर जागिर खान जाँदा तलब काम गर्न राखेकोलाई दिने कि घरबेटीलाई बुझाउने भन्ने सन्त्रास हुन्छ।

अझ बच्चाको महँगो फी, घरका अन्य खर्चपर्चको जोहो कसरी गर्ने रु त्यो मजस्ता मध्यमवर्गीय परिवारका जो जागिर खान्छौं नि हामीहरूको लागि सम्भव छैन।

त्यसैले गृहिणी हुँ, भनेर चित्त नदुखाऊ साथी, एकाधबाहेक हामी जो जागिर खाए पनि, माथिल्ला ओहोदामा पुगे पनि निसंकोचभन्दा अधिकांश जागिरे ‘गृहिणी’ नै हौं।

तिमी बिहान जतिबेला उठ्छौ नि सायद जागिर खान जाने महिलाहरू त्योभन्दा पहिले उठ्नुपर्छ।

अफिसमा दश मिनेट ढिलो पुग्दा स्पष्टीकरण खानुपर्छ, कतिपयको त जागिर पनि यति कारणले जान्छ।

काठमाडौंको जामको कहानी थाहा छँदैछ, बिहान घरको साराधन्दा सकाएर बल्लतल्ल निलेको भातको गाँस पेटमा पुग्न नपाउँदै अफिसको लागि दौडनुपर्छ। अफिसमा पुग्दा कहिलेकाहीँ शरीर गलेर फतक्क हुन्छ, अफिसको काम त जोस जाँगरका साथ गर्नु नै छ, फेरि घर फर्किएपछि नयाँ जोश जागरका साथ काम गर्नुपर्छ।

यो सायद प्रकृतिले नै दिएको अनुपम उपहार होला महिलाको लागि, पुरूषहरू घरमा प्रायस् आदेश दिन्छन्। अफिसमा पनि हाकिमसाब बन्छन्, आदेश दिन्छन् तर महिलाहरू अफिसमा आदेश दिने ठाउँमा भए पनि हतारहतारमा अफिस हिँड्दा कहिले मोबाइल घरमै छुट्छ, कहिले चस्मा छुट्छ, कहिले पर्स कहिले के छुटिरहन्छ।

अफिसमा आदेश दिए पनि घरमा पुगेपछि उही गृहिणीको काम सुरू हुन्छ।

त्यसैले, जागिर भएका मजस्ता महिला देखेर तिमीले वाह नभने हुन्छ साथी, मजस्ता अधिकांश महिलाहरू जागिरे गृहिणी हौं।

अर्को प्रसगंः

नातामा दिदी भिनाजु पर्नेहरू एउटै अफिसमा जागिर खान्छन्।

बिहान दिदीलाई सधैं हतार हुन्छ, भिनाजु बल्लतल्ल उठेर खाइदिन्छन्। अफिसको लागि तयार हुन्छन्। अनि दिदीसँगै अफिस जान्छन्।

एउटै भवनको फरक(फरक शाखामा एकै खालको काम गर्छन् दुवै जना। दुवै जनाको खटाइ कार्यालय समयमा उही प्रकारको हुन्छ तर पनि अफिसबाट घर फर्कंदा जहिल्यै भिनाजु थाक्छन् तर दिदी निकै फुर्तिली हुन्छिन्।

अफिसबाट फर्केपछि फ्यात्त झोला बिसाउँछन् भिनाजु, अनि दिदीलाई आदेश दिन्छन्,‘एक कप मीठो चिया बनाऊ त ………….’ म पनि थाकेकी छु, तपाईंले एक कप चिया बनाउनुस् त भन्न सक्दिनन् दिदी, सायद अधिकांश महिला यो शब्द उच्चारण गर्न सक्दैनन्, या चाहँदैनन्, गर्दैनन्।

एकै ठाउँमा एकै प्रकृतिको काम गरेर एकै समयमा फर्किएकी दिदी थाकेकी हुँदिनन्, आज्ञाकारी भएर चिया बनाउँछिन्। भिनाजु मोबाइल हेर्छन्। देश विदेशका गतिविधि नियाल्छन्, दिदीलाई कतिबेला ग्यासमाथि बसालेको कुकरले सिठी लगाउला र खाएर सुतिहालौं जस्तो हुन्छ।

बिहान अफिस जान हतार हुन्छ, भाँडा माझ्न भ्याइँदैन। बिहानको भाँडा सधैं बेलुका अफिसबाट फर्केर माझ्नुपर्छ। बेलुकाको धन्दा त बाँकी छँदैछ यो सब गरेर पनि दिदीले जागिर खाएकी छन् त्यो पनि प्रतिस्पर्धामा नाम निकालेर।

एक वर्षको बच्चालाई माइतीमा पठाएर दिदीले लोक सेवा पास गरेकी हुन्। यी दिदी जस्ता संघर्ष गर्ने धेरै दिदीहरूका कहानी साझा छन्, तै पनि प्रतिस्पर्धामा पुरूषको हाराहारीमा महिला देखिएका छन् यो नै ठूलो कुरा हो।

त्यसैले मेरा जति पनि जागिर नखाएका वा भनौं बिहान १०–०५ को तालिकाभित्र नअटाएका साथीहरू छन्, उनीहरूले आफूलाई केही काम नगर्ने, कुनै जागिर नभएको केवल घरमा मात्रै बस्ने पात्रको रूपमा नबुझौं भन्न चाहन्छु।

जागिर खानु कतिपयको रहर होला तर अधिकांश मजस्ता महिलाहरूको बाध्यात्मक रहर हो।

यो बाध्यात्मक रहरलाई जागिरे गृहिणीको रूपमा जसरी बुझेका छौं, जागिर नखाएका वा मासिक तलब नबुझेको मात्रै हो।

घरमा बसेर गरिएको अदृष्य कामको कुनै लेखाजोखा हुँदैन। गृहणाी घरमा बस्नेमात्रै होइनन् घरका असली व्यवस्थापक हुन्।

अतः मेरी प्रिय सखी म जागिर खाए पनि, अफिस आऊजाऊ गरे पनि तिम्रो नजरमा वाह सरकारी जागिरे भए पनि अन्ततस् म पनि तिमीजस्तै गृहिणी हुँ।

फरक यति हो तिमी त्यही काम बिस्तारै गरौली, म हतारहतार गर्छु।

तिमी बिहानको काम दिउँसो गरौली, म बिहानै सकाउँछु।

तिमी समय छ एकैछिनमा गरौंला नि भनौली, मलाई समय पाउनको लागि शनिबार कुर्नुपर्छ त्यसैले तुरुन्तै गर्नुपर्छ।

आखिर तिमी जस्तै म पनि साना दुई बच्चाकी आमा हुँ, बुहारी हुँ, श्रीमती हुँ, दश पाँचको पावन्दीमा एउटा अफिसको कर्मचारी हुँ तर वास्तवमा म पनि जागिरे गृहिणी हुँ।

तपाईको प्रतिक्रिया