
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक सुरक्षा र दुर्घटना न्यूनिकरणका लागि ‘म असल चालक’ अभियान सुरु गरेको छ । दुइपाङग्रे सवारीसाधनलाई मध्यनजर गर्दै ट्राफिकले बुधवारदेखि अभियान सुरु गरेको हो । जिल्लामा दुइपाङग्रे सवारीको दुर्घटना बढ्दो अवस्थामा रहेकाले यो अभियानपछि न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राखिएको ट्राफिक प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो । अभियान एक महिनासम्म संचालन हुनेछ ।
दुर्घटनाको उच्च जोखिम रहेका जिल्लाका ६ स्थानबाट अभियान सुरु गरिएको भट्टले जानकारी दिनुभयो । पूर्वी चितवनको भण्डारा,खैरहनी,टाँडी,भरतपुरको गोन्द्राङ,ट्राफिक कार्यालय क्षेत्र र मुुग्लिनमा अभियान संचालन गरिएको छ । अभियान अन्तर्गत मोटरसाइकल चालकलाई रोकेर दुर्घटना र त्यसको क्षतिबारे संवेदनशिल बनाइनेछ । सो अवसरमा सुरक्षा सन्देश सम्बन्धि स्टिकर टाँस्नुका साथै पर्चा समेत वितरण गरिएको छ । चितवनमा हुने दुर्घटनामा ज्यान गुमाउने मध्य ६३ प्रतिशत दुइपाङग्रे सवारीसाधनका चालक र यात्रु छन ।