
चितवन। चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत भाद्रयता उच्च देखिएको संक्रमणदर मंसिरयता भने घट्दै गएको हो । संक्रमितको संख्या घट्दा निको हुने दर भने बढ्दै गएको छ ।
मंसिर महिनामा संक्रमण दर पछिल्लो ४ महिनायता कै कम पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंसिरमा जिल्लाभर जम्मा ८६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघी कार्तिकमा संक्रमण दर उच्च देखिएको हो । कार्तिकमा जिल्लाभर २ हजार १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै असोजमा १ हजार ७०६ र भाद्रमा १ हजार १४५ जनमा कोरोना देखिएको थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १०५ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै पौष महिनाको दोस्रो साता चलिरहदा जम्मा १४९ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । यो तथ्याङ्कले पौषमा संक्रमण दर झनै कम हुने देखिन्छ ।
जिल्लामा संक्रमण दर घट्दा निको हुने दर भने बढेको छ । जिल्लाभर अहिलेसम्म ६ हजार २९० जनामा कोरोना पुष्टि भएको छ । जसमध्य निको हुनेको संख्या ५ हजार ९२० पुगिसकेको छ । जस अनुसार चितवनमा कोरोनामुक्त हुने दर ९४।१ प्रतिशत छ ।
जिल्लाभर हाल जम्मा २६९ जनामा मात्र कोरोना सक्रिय छ । यो कुल संक्रमितको ४।३ प्रतिशत हो । सक्रिय संक्रमित मध्य पनि २४३ जना होम आइसोलेसनमा छन् । जम्मा २७ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् ।
यस्तै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०१ पुगेको छ । यो कुल संक्रमितको १।६ प्रतिशत हो । जिल्लामा मृतकको संख्या पनि घट्दै गइरहेको छ । मंसिरमा कोरोनाबाट चितवनमा १६ जनाको मृत्यु भएको थियो । त्यस अघी भाद्रमा १६, असोजमा २२ र कार्तिकमा ४४ जनाको मृत्यु भएको छ । जारी पौष महिनामा अहिलेसम्म जम्मा २ जनाको मृत्यु भएको छ ।