चितवन । जाडोबढेसँगै कालिका नगरपालिकाले शीतलहर सँगै हुने अन्य विपद् जोखिम व्यवस्थापनको विषयमा चासो देखाएको छ । शीतलहर सँगै अन्य विपद् जोखिम व्यवस्थापन र जलवायु अनुकूलनका लागि विपद् तथा जलवायु उत्थानशील योजनाको मस्यौदाको विषयमा आजै छलफल भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम( यूएनडिपी – सिडिआरएमपी )को सहयोगमा सरोकारवालाहरुसँग कालिका नगरपालिकाले छलफल गरेको हो । नगरक्षेत्रभित्रका विपद्को जोखिम क्षेत्रको समस्या सँगै विपद् न्यूनिकरणका लागि गर्नुपर्ने कामलाई लिएर प्रारम्भिक मस्यौदा तयार पारिएको थियो ।
विपद् तथा जलवायु उत्थानशील मस्यौदा योजनाका विविध पक्षमा सुझाव संकलन गरेर अन्तिम रुप दिनका लागि मस्यौदामाथी छलफल गरेको हो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम( यूएनडिपी ) का परामर्शदाता रामचन्द्र न्यौपानेले मस्यौदा प्रस्तुत गरेका थिए । छलफल कार्यक्रममा योजना तर्जुमा प्रक्रिया तथा विधि,योजनाको स्वरुप, नगरपालिकामा जोखिमको अवस्था, प्रमुख समस्या, मौसमी अवस्थामा परिवर्तन, योजनाका मूलभूत विषय कार्यान्वयन रणनीति, आपतकालीन समयका लागि गरिने क्रियाकलाप लगायतका विषयमा छलफल भएको थियो ।
वडा नं. ४ को वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ (गोपी), सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधिहरु छलफलमा सहभागी थिए । कार्यक्रम वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।