×

चितवन । चितवनको नारायणगढमा १९ वर्ष अगाडि स्थापना भएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो स्थापना दिवस मनाएको छ । क्लबले विशेष समारोहको आयोजना गर्दै चितवनको महत्वपूर्ण पर्यटकीय क्षेत्र पटिहानीमा आफ्नो १९औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ नारायणगढ बालकुमारीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

क्लबले विद्यालय, विद्यार्थी तथा अन्य सामाजिक काममा आफूलाई अगाडि बढाएको भन्दै अन्य क्लबहरुले समेत सिको गर्नुपर्ने बताउनुभयो । सो स्थापना दिवसको अवसरमा क्लबले संस्थापक सदस्यहरु, संस्थापक अध्यक्ष लक्ष्मीचरण श्रेष्ठकी धर्मपत्नी सुशीला, पूर्व अध्यक्षलगायतका व्यक्तिहरुलाई सम्मान गरेको क्लबका सचिव शेरबहादुर पौडेलले बताउनुभयो । क्लबलाई स्थानीयदेखि डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय स्तरमा अब्बल राख्न अहोरात्र खटिनुभएको भन्दै क्लबका निवर्तमान अध्यक्ष बालगोपाल चुके, पूर्व अध्यक्ष टेकबहादुर थापासहितका व्यक्तिहरुलाई क्लबले सम्मान गरेको थियो ।

त्यसैगरी, क्लबले लायन अफ दी इयरबाट निवर्तमान अध्यक्ष बालगोपाल चुके, आर्थिक संकलन तथा प्रभावकारी कोष व्यवस्थापनका लागि तृतीय उपाध्यक्ष शंकर आचार्य, एफजेएफ डोनरबाट पूर्व अध्यक्ष अभिमन्यु श्रेष्ठ, हाइएस्ट एटेन्डेन्सबाट गोविन्द पराजुलीलाई सम्मान गरेको छ भने क्लबका सदस्य र उनीहरुको प्रथम महिलालाई मायाको चिनो तथा सदस्यहरुलाई क्लबको आईडी नम्बर सहितको नेम प्लेट प्रदान गरिएको छ । स्थापना दिवसको अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुका पूर्व गभर्नर राजकुमार श्रेष्ठ, एरिया चिफ प्रभाकर पण्डित, रिजन चियर पर्सन बालगोपाल चुके, पूर्व अध्यक्ष एवं संस्थापकको तर्फबाट टेकबहादुर थापा, लियो क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष जायश्वर आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो ।

क्लबका संस्थापक एवं पूर्व अध्यक्ष इश्वर कुमार राजभण्डारीले क्लबको बारेमा जानकारी गराउनुभएको थियो । क्लबका अध्यक्ष हरेराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया