×

माडी । चितवनको माडीस्थित बोटे गाउँमा होमस्टे सञ्चालनमा आएको छ । पर्यटन प्रर्वद्धन र सस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ माडी नगरपालिका १ वनकट्टाको बोटे गाँउमा बोटे सामुदायिक होमस्टे सञ्चालनमा आएको बोटे होमस्टेका अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिए ।

प्रथम चरणमा निर्माण भएका १० वटा होम स्टेहरु सबै सञ्चालनमा आएका छन् भने अन्य २ वटा निर्माधीन अवस्थामा छन् । यद्यपि होम स्टेको औपचारिक उद्घाटन भने भएको छैन ।

माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम ९ताल० को सहयोगमा निर्माण भएका होम स्टेहरु औपचारिक रुपमा उद्घाटन नभए पनि पाहुनाहरु आउने क्रम बढेकाले होम स्टेका सञ्चालकहरु पनि उत्साहित भएका छन् ।

मुख्य सडकबाटभित्र, हरियाली र शान्त वातावरणमा सञ्चालित होमस्टेमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावरहरु पनि देख्न सकिने भएकोले पर्यटकहरुका लागि बोटे होम स्टेहरु आकर्षणका केन्द्र बनेका छन् ।

होमस्टेहरु औपचारिक उद्घाटन गरी सञ्चालन नभए पनि पर्यटकहरु आउने क्रम बढेको र जङ्गल र जङ्गली जनावरहरु हेर्दै पर्यटकहरु रमाउने गरेको अध्यक्ष बोटले जानकारी दिए ।

होमस्टेबाट प्रशिद्ध धार्मिक स्थलहरु पाँच पाण्डव मन्दिर, भीम इनार, परशुराम कुण्ड, गोद्धकनाथ, अष्टभुज शिवलिङ्ग, कुकुरनाथ, बिरालानाथ, सीता गुफा, झण्डी डाँडा नजिकै पर्ने भएकोले होमस्टेमा बसेर बिहानै तीर्थस्थलहरुको दर्शन गरी रमणीय वातावरणहरुको अवलोकन गर्न पर्यटकहरु लालायित हुने गरेको होम स्टे सञ्चालक समितिका कोषाध्यक्ष जगनारायण बोटले बताए ।

 

तपाईको प्रतिक्रिया