चितवन । भरतपुर अस्पताललाई २० लाख रुपैयाँ भन्दाबढीको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोका–कोला फाउण्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सोमबार सो सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कोरोना महामारी विरुद्धको लडाईंको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षाको लागि सो स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरिएको जनाईएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठक र चितवन रेडक्रस शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामाग्री हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८ सय ५० रूपैयाँ मूल्यको आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटरका साथै ६ हजार पिस सर्जिकल मास्क, २ हजार ५ सय थान सर्जिकल पन्जा, एकसय थान सुरक्षा पोशाक, केएन ९५ मास्क दुई सय थान र ५० थान सुरक्षा चस्मा रहेका छन् । ती सबै सामग्रीहरुको मूल्य २० लाख ३ हजार ६ सय ५७ रहेको नेपाल रेडक्रसका केन्द्रीय उपकोषाध्यक्ष पाठकले जानकारी दिनुभयो ।