Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

प्रतिमा सिलवाल

प्रिय छोरा प्रेरक,

शुभआशीर्वाद तथा दीर्घजीवनको कामना।

तिमी मेरो कोखबाट यो धर्तीमा आएको तीन वर्ष पूरा भयो। तिम्रो जन्मले मातृत्वको अभूतपूर्व अनुभव लिने अवसर मिल्यो मलाई। हुन त तिमी गर्भमा आएदेखि नै मातृत्वको अनुभूति आइसकेको थियो।

त्यतिबेला तिमी मभित्रै थियौ, मेरै एक अंग स्वरुप। तिमीसँग घण्टौँ गफ गर्थेँ। तिमीले गर्भाशयबाट लात्ती हान्दा ‘आमा’ भनेझैँ लाग्थ्यो मलाई। मनमनै म तिम्रो रुपरंगको स्केच कोर्थेँ। आफैभित्र गर्भको गर्व हुन्थ्यो मलाई। जब तिमी सशरीर यो धर्तीमा आयौ, म घोषित आमा बनेँ।

तिमी मेरै रहरले जन्मिएको हौ। तिम्रो बाबा र मैले सन्तानको अभिभावक बन्ने चाहनामा नै तिमी मेरो कोखमा आयौ। हामीले मात्र सन्तानको रहर गरेका थियौँ। सन्तानको रुपमा तिमी छोरा नै होला भन्ने कहिल्यै कल्पना गरेनौँ, न त चाहना नै। हामी मात्र सन्तान चाहन्थ्यौँ। हाम्रो सन्तानको रुपमा तिमी छोरा जन्मियौ। हामी पूर्ण आमारबाबा बन्यौँ।

आज आमा बनेपछिको अनुपम क्षण बिताइरहेको छु। केहीक्षण मात्रै पनि तिमी आसपास नभए छातीमा गह्रुँगो हुन्छ, ढक्क फुलेझैँ। यो भिन्नै अनुभूति मैले आमा हुनुअघि गरेकै थिइनँ।

तिमीसँग यति रोमाञ्चक समय बिताउँदा कहिलेकाहीँ मेरो नजरले तिमीमा ‘केटामान्छे’ को बिम्ब देख्न थालेको छ। त्यो केटामान्छे जसबाट संसारमा धेरै छोरीहरु असुरक्षित छन्। मेरो स्तनपान गर्दै तिमी लुपुक्क काखमा निदाउँदा म भने झस्किन थालेको छु छोरा।

आडैमा निदाएको तिम्रो टाउको मुसार्दै देशको खबरहरु हेरिरहँदा म आत्तिने गरेको छु। अबोध छोराप्रति आजैदेखि त्रसित हुनुपर्ने आफ्नै मानसिकतादेखि व्यथित हुन्छु।

बाबु हिजोआज मेरो कानमा मैले जस्तै जीवनमरणको दोसाँधमा पुगेर जन्माएका तिमीजस्तै छोराको कारण कलिला छोरीहरुको चित्कार गुञ्जिन थालेको छ। कहिलेकाहीँ त म त्यसै आत्तिन्छु, रातसाँझ हिँड्दा म आफै पनि तिमीलाई आज जसरी नै स्तनपान गर्न आइपुग्छु कि आइपुग्दिन

हो छोरा, तिमी नजन्मिदै बसेको जस्तै गर्भाशयहरु कलिलैमा च्यातिन थालेका छन् हिजोआज। तथ्यांकले त भन्छ, कम्तिमा सात छोरीहरु दैनिक बलात्कृत हुन्छन्।

तिमी जस्तै सन्तान जन्माउने क्षमता भएका छोरीहरु त्यही पाठेघर र योनी भएका कारण असुरक्षित भएका छन् हिजोआज। म यो सोच्दा पनि कायल बन्न थालेको छु छोरा, कतै मैले पनि तिमीलाई दिने संस्कारमा कमी आउने होकि ?

मेरा साथीहरु(छोरीका आमाबुबा) आफ्ना छोरीलाई कराते, तेक्वान्दो सिकाउन चाहन्छन्। किन, तिमीलाई थाहा छ ? उनीहरु आफ्ना छोरी आत्मरक्षा गर्न स्वयं सकून् भन्ने चाहन्छन्। आफ्नो अस्तित्वको रक्षा गर्न एक्लै हुँदापनि सकून् भन्ने चाहन्छन्। मेरा साथीहरुका त्यो कुरा सुन्दा मेरो छाती कति चर्किन्छ, तिमी सायदै अनुभव गर्न सक्छौ।

तिमीजस्तै छोराहरुबाट जोगिनको लागि उनीहरुले आत्मरक्षा सिक्नुपर्ने कस्तो बिडम्बना जान्ने भएपछि पक्कै तिमीले महशुस गर्नेछौ। म पनि चाहन्छु छोरा, तिमी पनि तेक्वान्दो, कराते सिक। आफूलाई मजबुत बनाऊ। अनि छोरीहरुको आत्मरक्षामा सहयोगी बन। सिंगो पुरुषबाट महिलाहरुले भयभित हुनुपर्ने स्थितिको अन्त्य गर्ने संवाहक बन।

तिमी आजसम्म सबैभन्दा आफ्नो नजिकको मान्छे मलाई मान्छौ। सबैभन्दा राम्रो र प्यारो पनि आफ्नै आमा हो भन्छौ। मेरो त तिमी मुटु नै हौ। यस्तो लाग्छ मेरो मुटुको एउटा टुक्रा तिमीसँगै छ। त्यसैले त छोरा, तिम्रो सानो दुःखाइमा तिमीभन्दा धेरै म आत्तिन्छु। तर, छोरा कोख र काखमा सन्तान रहुन्जेल मात्रै आमालाई सर्वोपरि मान्ने प्रवृत्ति समाजमा मौलाउँदै छ।

आज अबोध छौ। विस्तारै तिमी बुझ्दै जान्छौ यो समाजले अझै पनि तिमी अघि र तिम्री आमालाई पछि देख्छ। किनकी तिमी पुरुष हौ, छोरा हौ। समाजले तिमीलाई बलिया र हामी महिलालाई कमजोर करार गरेको छ। तिमी आफै भन त बाबु, तिमीलाई यो संसार देखाउने आमा कहिल्यै कमजोर हुन सक्ली?

तिमीजस्ता छोराहरुलाई हुर्काउँदा नै तिमी बलियो हौ, जे पनि गर्न सक्छौ भनेर हिम्मत भर्ने आमाहरुले नै छोराहरुको मर्यादाको सिमाना पनि कोरिदिन बिर्सिए किरुछोरीलाई साँझ पर्नुअघि दैलो नटेके अत्तालिने आमाहरुले छोरा मध्यरातमा घर पुग्दा अब छोरो हुर्कियो भनेर सन्तोषको श्वास मात्र लिए कि ?

छोरा, म ती आमाहरुको सूचीमा पर्न चाहन्न जसले छोरा र छोरीका लागि फरक सीमा कोरिदिए। तिमीलाई यो संसार देखाउन आफू मृत्युको मुखसम्म पुग्न राजी हुने आमा हुँ म। मलाई डर छ छोरा, तिम्रो खुसीमा रमाउँदा रमाउँदै तिमीलाई सीमारेखा बुझाइदिन बिर्सिन्छु कि ?

तिमी विस्तारै हुर्कदै छौ। तेस्रो वर्ष पार गर्यौ। विस्तारै चौथो, पाँचौं हुँदै वर्षहरु पार गर्दै अघि बढ्नेछौ। तिमी अघि बढ्दै जाँदा तिम्रा यात्रामा भेटिएका कुनै केटीमान्छेलाई हैरानी दियौ दिएनौ सोध्न पो बिर्सिन्छु कि ?

सार्वजनिक यातायातमा मैले भोगेजस्तै दुर्व्यवहार अर्की निर्दोष केटीले तिमीबाट भोग्नुपर्छ किरु कतै तिमी माझी औंला देखाएर आफ्नो यात्रामा हिँडिरहेकी छोरीलाई भोलिपल्टदेखि त्यो बाटो नै हिँड्न तर्सिने पो बनाउँछौ कि ?

म कामबाट रातिको दश बजे घर फर्किँदा स्कुटरको पिछा गरेर भोलिपल्टदेखि काममा जानुअघि हजारौँ पटक आफ्नो सुरक्षाबारे सोच्न बाध्य भएझैँ भर्खरै काममा लागेका महिलालाई बाध्य पो बनाउँछौ कि?

मजस्तै महिलाहरु सुरक्षा देऊ भन्दै प्रहरीको ढोका ढक्ढक्याउन जानु नपरोस् भन्ने चाहन्छु छोरा म। यो चाहना केबल तिमीले र तिमीजस्तै छोराहरुले मात्रै पूरा गर्न सक्छन्।

आजको तिम्रो निर्दोष नयनमा केबल माया छ, चुल्बुलेपना छ। तिमी विस्तारै घृणा, द्वेष, अपराध बुझ्ने हुन्छौ। तिमी पनि यो समाजका तथ्यहरुबाट परिचित हुँदै जान्छौ। पितृसत्ताको उन्मादमा भइरहेको अपराधहरुबारे पनि जान्छौ। त्यो समय यो केबल अपराध हो। समाजका सत्ता सम्हालेका वर्गले कमजोर ठानिएका वर्गमाथि गरेको अपराध भन्ने तिमीले पक्कै बुझ्नेछौ, म बुझाउँछु।

आज मलाई विश्वास छ, ती अपराधले तिमीलाई एक मानवको रुपमा पीडा हुनेछ, हुनुपर्छ। तिमी स्वयंले यस्ता अपराधका पृष्ठभूमी जान्यौ भने त्यो दलदलमा आफू नफस्ने मात्रै होइन, हजारौँलाई सही बाटोमा लैजान सक्छौ भन्ने विश्वास छ मलाई।

तिमीलाई आजैदेखि मैले तिम्रा सीमा बारे सचेत गराउन थालेँ भने मेरी साथीले आफ्नी छोरीलाई रातसाँझ एक्लै घरबाहिर नहिँड्ने सीमा निर्धारण गर्नु पर्दैन छोरा। मलाई आज हुर्किएपछिको तिमी सम्झिएर बेचैनी हुन्छ।

आजैदेखि तिमीलाई अपराध विरुद्ध खबरदारी गराउने प्रण म गर्छु। यो मेरो र म जस्तै छोराहरुका आमाको जिम्मेवारी पनि हो। मलाई विश्वास छ, कम्तिमा एउटी आमाले आजदैखि समाजका असमानताहरुबारे व्यवहारमा सिकाइ भने त्यो सन्तानले असमानतालाई पक्कै बढवा दिँदैन। एकपक्षलाई बलियो र अर्कोलाई निर्धो करार गर्ने सामाजिक संरचनालाई पक्कै तिमीले चिर्नेछौ।

आज म कल्पिरहेको छु त्यो दिन, जुन दिन तिमी समानताको संवाहक बन्नेछौ। एक्लै अपरिचित छोराहरुसँग डारउनु पर्ने सामाजिक स्थिति अन्त्य गर्न पहल गर्नेछौ। सरकारलाई धारे हात लगाउँदै हामी असुरक्षित भयौँ भन्ने दिनको अन्त्य हुनेछ।

तिमीले आफ्नै घर सुरिक्षत बनाउनेछौ। त्यसपछि तिमी वरपरको समाज। आफू बदलिए संसार बदल्न केही गाह्रो छैन छोरा। अघि बढ तिम्रो समानताको पाइलामा सधैँ साथ रहनेछु। (सेतोपाटीबाट )

तिम्री आमा

प्रतिमा सिलवाल।

तपाईको प्रतिक्रिया